१० मंसिर २०८१, सोमबार
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार

म्याद सकियो, पूरा भएन अस्पताल भवन

१८ साउन, गलकोट । निर्माण व्यवसायीले समयमै काम गरेका भए बागलुङ नगर अस्पताल भवन निर्माण भइसकेर सेवा दिन थाल्थ्यो । पन्ध्र श्ययाको बागलुङ नगर अस्पताल बागलुङ नगरपालिका–१३ पैँयुपाटामा निर्माणधीन छ । २०८० असार २० गते निर्माण सकेर हस्तान्तरण गर्नेगरी अस्पताल भवनको जिम्मा पाएको निर्माण व्यवसायीले दुई पटक म्याद थप्दा समेत ५० प्रतिशत मात्रै काम सम्पन्न गरेको छ ।
बागलुङ नगरपालिकाको १५ श्ययाको अस्पतालको दोस्रो ढलान मात्रै सम्पन्न भएको छ । दुई वर्षमा सक्नेगरी ठेक्का सम्झौता अस्पतालको तीन वर्ष बित्दासमेत जम्मा ५० प्रतिशत काम सकिएको बागलुङ नगरपालिकाले जनाएको छ ।
निर्माण व्यवसयीले भुक्तानी समयमै नपाएको, कच्चा सामग्री आयातमा सडकको अवरोध रहेका कारण निर्माणमा ढिलाइ भएको जनाउँदै आए पनि दुई पटक मिति थप्दासमेत भवन निर्माण आधा मात्रै सकिएको बागलुङ नगरपालिकाका इन्जिनियर सोबिन घर्तीले बताए । “१५ श्याको नगर अस्पताल भवन निर्माणमा ढिलाइ भएको छ, २०८० असारमा म्याद सकिएको थियो, एक वर्षलाई थपेको म्याद सकियो, पुनः एक वर्षलाई दोस्रोपटक म्याद थपिएको छ, काम बल्ल ५० प्रतिशत भएको छ, एकतला अझै ढालन गर्न बाँकी छ”,घर्तीले भने, “सार्वजनिक खरिद नियमावली २०६४ को १२औँ र १३औँ संशोधनअन्तर्गत दोस्रो पटक म्याद थपिएको छ, एक वर्षमा काम गरे अस्पताल भवन निर्माण गरेर हस्तान्तरण गर्न सकिन्छ, निर्माण व्यवसायीले समयमै काम गर्न नसक्दा दुई पटक म्याद थपिएको छ ।”
नगर अस्पताल पुरानो स्वास्थ्यचौकीको भवनबाट सेवा दिन सुरु गरेकै तीन वर्ष बितिसक्दा अस्पताल भवन निर्माण हुँन नसकेको हो ।
स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी नगर अस्पताल बनाएर सेवा दिए पनि भवन अभावले समस्यामा परेको स्थानीय बालकृष्ण शर्माले बताए । लामो समयको प्रयास र पहलपछि बागलुङ नगरपालिकाको नगर अस्पताल बागलुङ नगरपालिका–१३ पैँयुपाटामा १५ श्ययाको नगर अस्पताल भवन निर्माण अघि बढे पनि निर्माण व्यवसायीको चरम लापरवाहीका कारण भवन निर्माणले गति लिन नसकेको हो ।
निर्माण व्यवसायीलाई ताकेता गरिरहेको बताउँदै वडा नं १३ का वडाध्यक्ष नारायण पौडेलले असारभित्रै अन्तिम तला ढलानको तयारी गरे पनि सडक मार्ग अवरुद्ध भएपछि कामदारले अस्पताल निर्माणको काम छाडेर घर गएको बताए ।  अस्पतालबाट अहिले मेडिकल अधिकृतसहितको सेवा प्रदान भइरहेको उनले बताए ।
बागलुङ –१३ पैँयुपाटा स्वास्थ्यचौकीलाई नै नगर अस्पतालका रुपमा नामकरण गरेको बागलुङ नगरपालिकाले नयाँ भवन निर्माणका लागि रु १२ करोड ८७ लाखमा ठेक्का सम्झौता गरे पनि निर्माण व्यवसायीको ढिलासुस्तीका कारण अस्पताल भवन निर्माण कहिले सकिने टुङ्गो नलागेको वडाध्यक्ष पौडेलले बताए ।
“बागलुङ नगरपालिकाको बलेवा क्षेत्र सदरमुकामको पहुँचबाट टाढा भएका कारण नगर अस्पताल यही बनाउने गरी काम थालेको थियो, तीन वर्षमा आधा काम हुँदा अझै कति वर्ष लाग्छ भन्ने जनतालाई आशङ्का छ”,वडाध्यक्ष पौडेलले भने “सरकारले प्रत्येक पालिकामा १५, १० र ५ श्ययाको आधारभूत अस्पताल निर्माण गर्ने लक्ष्यअनुसार स्वास्थ्यको पहुँचबाट टाढा रहेको नगरपालिकाको दक्षिण भेगलाई लक्षित गरी नगर अस्पताल निर्माण थालिएको भए पनि अस्पताल भवन निर्माणमा ढिलाइ हुँदा सेवा दिँदा समस्या भएको छ ।”
पन्ध्र श्ययाको अस्पताल भवन निर्माण गर्न श्री महालक्ष्मी जुगल जेभीसँग २०७८ असार २३ गते रु १२ करोड ८७ लाखमा सम्झौता भएको थियो । उक्त भवन २०८० साल असार २० गतेसम्म सक्नुपर्ने सम्झौता रहेको छ । अस्पतालको प्रवेशद्वार, पार्किङलगायत संरचनासहित तीन तलाको विद्युतीय भर्‍याङसहितको अस्पताल निर्माण हुने भए पनि समयमै भुक्तानी नहुँदा र सडक बन्द हुँदा निर्माणमा ढिलाइ भएको निर्माण व्यवसायका आधिकारिक प्रतिनिधि नरेश ओझाले बताए । साढे दुई करोड भुक्तानी गर्न राज्यले बाँकी रहेको बताउँदै भुक्तानी पाउँदासाथ काम गरेर सक्ने ओझाको भनाइ छ ।
बागलुङ नगरपालिकाको रायडाँडा, पैँयुपाटा, अमलाचौर र नारायणस्थनका बासिन्दालाई अस्पताल निर्माणसँगै स्वास्थ्य सेवा लिन सहज हुनेगरी नगर अस्पताल घोषणा गरेर सेवा दिन थाले पनि भवन निर्माणमा ढिलाइ हुँदा पूर्ण सेवा दिन नसकिएको हो ।

प्रतिक्रिया दिनुहोस्