१५ आश्विन २०८१, मंगलवार
बैंक–वित्त मुख्‍य समाचार विचार समाज साहित्य/ समाचार

नारी मनोविज्ञानको आँखाबाट नारीवादी चिन्तन “लार”

मुना चौधरी नेपाली साहित्यमा बोल्ड लेखकको रूपमा चिनिने नाम हो । यसअघि उनको उपन्यास ‘जयवर्धन सलहेश’ र ‘दुलारी’ प्रकाशित छन् ।
बाह्रखरी उत्कृष्ट कथा -२०७७ मा `लार´ कथाले प्रथम स्थान हासिल गरेपछि उनी धेरै पाठकसम्म पुगिन । नारी मनोविज्ञानलाई जोडेर उनले सामाजिक वेथिति, विसङ्गति, सिमान्तकृत, समुदाय,कुसंस्कार आदि विषयमा आख्यान सिर्जना गरेको पाइन्छ । `समाजको इच्छ्भन्दा व्यक्तिइच्छा ठूलो हो । त्यसकारण दमित इच्छा,भावना एवं मनोवेगहरूलाई स्वतन्त्र आत्मनिर्माण गर्न दिनुपर्छ ´ भनेर विश्वेश्वरप्रसाद कोइरालाले भनेका छन् । उनका कथामा यहि कुराहरूले स्थान जमाएको छ । भारतका सुप्रसिद्ध प्रेमचन्दले पनि मनोविज्ञानविना कुनै पनि लेखन पूर्ण नहुने विचार व्यक्त गरेका छन् ।

`लार´ नारी मनोविज्ञानको दृष्टिबाट नारीवादी चिन्तनमा लेखिएको कथासङ्ग्रह हो । उनले प्राय कथाहरूमा संवादको क्रममा थारु भाषाको प्रयोग गरेकी छिन् । तराई परिवेशको चित्रण अधिकांश कथामा पाउन सकिन्छ । तराईको कला, संस्कृति, समाज, परम्परा,पात्र उनका कथाका विशेषता हुन् । उनी आफू जन्मेको भुगोलका कथालाई मातृभाषाको सम्मान गर्न चुकेकी छैनन । उनका कथाका प्रधान पात्रहरू नारी छन् । नारीले गरेको संघर्ष, परिस्थिति, आवेग, अवसाद, उन्माद, काम इच्छा आदिको कारणले उनीहरूको जीवनमा पर्ने असर कथाहरूमा देख्न सकिन्छ । उनका पात्र बलिया छन् । जो विद्रोह गर्न रुचाउँछन् । हिंसाको पराकाष्ठामा पुगेपछि हरेक पात्रले विद्रोह गरेका छन् । आफ्नो हक र अधिकारका लागि समाजिक मूल्य मान्यतालाई भत्काउन तम्सिएका छन् । आफ्नो निर्णयबाट सफल भएको देखाएर बिद्रोह गर्न सके मुक्ति मिल्छ भन्ने सन्देश दिन खोजेकी छिन् ।
जैविक आवाश्यकतालाई पूरा गर्न नपाउँदा आउने मानसिक विचलन, समाजिक मूल्य मान्यताको उपेक्षा, घरगृहस्थीको तहसनहसका अवस्थाहरूलाई देखाइएको छ । कथाका पात्रहरू विद्रोही छन् । उनीहरू चुपचाप बस्दैनन् । विद्रोहका लागि चुनौतीपूर्ण कदम चाल्न डराउन्नन् । धार्मिक,सांस्कृतिक,सामाजिक र आर्थिक अवस्थाको जोखिम पनि मोल्न तयार छन् । उनका पात्रहरू अस्तित्वलाई बचाइरहन तल्लिन छन् । उदाहरणीय बन्न प्रेरित गर्छन । आवाज उठाउन सिकाउँछन । दबेर बस्ने होइन अधिकारको लडाइँ गर्नुपर्छ भनेर प्रेरित गर्छन् । केहि कथामा सांस्कृतिक र परम्परिक विम्ब अटाएका छन् । समुदाय विशेषको चलनचल्तीलाई जान्न/बुझ्न सहयोग गर्छ ।

कथाका शीर्षकहरू आफ्नै मातृभाषामा राखेकी छिन् । जसले थप सांस्कृतिक र भाषिक पक्षलाई अन्य समुदायका मान्छेसँग परिचित गराउन मद्धत गर्छ । कथाहरूमा उनले महिलाका शारीरिक संरचनामा आउने स्तनक्यान्सर र पाठेघर खस्ने समस्यालाई पनि उजागर गरेकी छिन् ।
रजोनीवृती आउन लाग्दा महिलामा हुने हर्मोनल परिवर्तनका कुरालाई सूक्ष्म ढंगले देखाइएको छ । यस्तो बेला बिनाकारण रिस उठ्ने, चिटचिट पसिना आउने, मुड स्वीङ हुने कुरा कथाले पात्रको क्रियाकलापबाट मज्जाले देखाएको छ । महिलालाई आफ्नो रूप कुरुप हुँदै गएको भन्ने चिन्ताले कतिसम्म सताउन सक्छ भन्ने विषय पनि अटाएको छ । महिलालाई एउटा पूर्ण लोग्नेमा के चाहिन्छ भन्ने विषय कथाले उठाएको छ। यौनभन्दा बढी साथ,सम्मान र हेरचाह नारीले खोज्छन र जस्तोसुकै प्रतिकुल अवस्थामा पनि प्रेम गरिरहन सक्ने पुरुष नै महिलाको पहिलो रोजाई हुनेगर्छ । यसमा मानसिक आघातको पनि विषय देखिन्छ ।

बहुविवाह, गरिबी,विश्वासघात,सामाजिक परम्परा,संस्कृति,हिंसा,यातना,धोका, संघर्ष, विद्रोह आदि महिलाका तमाम समस्याहरूको चित्रण छन् ।
चौधरीका हरेक कथाले समाजिक विभेद, भेदभाव, महिला हिंसा लगायतका मुद्धा उठाएका छन् ।

केही कथाहरूमा विम्ब,शिल्प र कलाको प्रयोग कम मात्रामा पाउन सकिन्छ । कुनै कथाको सुरुवात दमदार भएपनि अन्त्यसम्म आउँदा दुर्घटनामा परेका छन् कथाहरू । कथालाई अझै कस्न सकिने, नवीन विषयवस्तुको खोज गर्न सकिने, यादगार बनाउने गरी प्रस्तुत गर्न सकिने धेरै ठाउँ छ ।

बोल्ड महिला लेखकको अभाव भएको नेपाली साहित्यमा मुना चौधरीका कथाले पाठकलाई नसोचेको झट्का दिन चाहि सक्षम छ । यस किसिमबाट कथा लेख्न उनमा देखिएको साहस र आत्मविश्वास प्रशंसनीय छ ।

प्रतिक्रिया दिनुहोस्