७ आश्विन २०८१, सोमबार
मुख्‍य समाचार समाचार समाज

बासस्थान नवप्रवर्द्धन सम्मेलन चितवनमा

२१ साउन, चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर र काठमाडौँ विश्वविद्यालयद्वारा संयुक्त रुपमा आगामी भदौ ३१ देखि असोज १ गतेसम्म तेस्रो बासस्थान नवप्रवर्द्धन सम्मेलन यहाँ आयोजना हुने भएको छ ।
फोहर व्यवस्थापन समाधानलाई ऊर्जा उत्पादन, खाद्य सुरक्षाको प्रवर्द्धन र वातावरण संरक्षणसँग एकीकृत गर्ने उद्देश्यले सम्मेलनको आयोजना गर्न लागिएको पूर्वमन्त्री गणेश साहले जानकारी दिए । फोहरले गर्दा अहिले वातावरण बिग्रँदै गएकाले यसलाई उद्यमशीलतामा परिणत गर्नसके फोहर मोहोरका रूपमा आउने उहाँको भनाइ छ ।

अहिले देशभरका नगरप्रमुखहरूलाई फोहर व्यवस्थापन समस्या बनेको जनाउँदै उहाँले त्यो फोहर व्यवस्थापनबाट आर्थिक अर्थतन्त्र बलियो बनाउनका लागि बासस्थान नवप्रवर्द्धन सम्मेलन गर्न लागिएको बताए ।

कार्यक्रममा प्राज्ञ, नीति निर्माता, लगानीकर्ता, केन्द्रीय र स्थानीय सरकारी निकाय, गैरसरकारी संस्था, कृषि विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी र सरसफाइ प्रविधिमा विशेषता भएका व्यक्तिहको उपस्थिति रहने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा वातावरण, दिसाजन्य फोहर व्यवस्थापन र खाद्य सुरक्षाका विषयमा कार्यपत्र प्रस्तुत गरिने भएको छ । सम्मेलनमा भर्चुअलमार्फत विशेषज्ञले आफ्नो प्रस्तुति राख्नेछन् । सम्मेलनमा समूहगत छलफल, प्राविधिकहरूको सत्र, नगरपालिका प्रमुखहले फोहर व्यवस्थापनमा झेलिरहेका समस्या, स्नातकोत्तर विद्यार्थीहरूका प्रस्तुति, रोजगारी मेला र भर्ना, नेटवर्किङ, प्रदर्शनी, सरकारी निकायको प्यानलजस्ता विषयहरू प्रस्तुत गरिनेछ ।

यसले खाद्य सुरक्षा, सरसफाइ र वातावरण व्यवस्थापनमा रहेका चुनौतीहरूको समाधान गर्न सहयोग पुग्ने अपेक्षा लिइएको कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा डा पुण्यप्रसाद रेग्मीले बताए ।

प्रतिक्रिया दिनुहोस्