१६ आश्विन २०८१, बुधबार
मुख्‍य समाचार समाचार समाज

डिभोर्स भएका र उमेर ढल्केका धेरैको जोडी मिलाइदिएका छौं

सामान्यत लमी भनेको विवाहका लागि केटाकेटी र परिवारबीच सूचना आदानप्रदान गर्ने मध्यस्तकर्ता हो । गाउँघरमा अझैपनि विवाहका लागि वर वा वधु खोज्दा लमीको सहयोग लिने प्रचलन छ । लमी राखेर विवाह गर्ने चलनलाई कायम राख्न हामीले निजी क्षेत्रबाट सहयोग गरिरहेका छौं । संस्था नै स्थापना गरेर लमीको भूमिका निर्वाह गरिरहेका छौं । करिब पाँच वर्षसम्म अनौपचारिक रुपमा आफन्तहरुका निम्ती लमीको काम गरेका थियौं । विस्तारै संस्थागत रुपमै काम गर्ने भनेर कम्पनी रजिष्ट्रार कार्यालयमा संस्था दर्ता गरेर काम गरिरहेका छौं ।

२०७७ सालको मंसिर १७ गते ‘लमी नेपाल प्रा.लि’ दर्ता गरेर काम गरिरहेका छौं । खासमा आफ्नै परिवारमा घटेको एउटा सामान्य घटनाबाट संस्था खोल्ने सोच आएको हो । मैंले विवाह गरेको १३–१४ वर्ष भयो । मेरो दिदीको बिवाह भएको १५ वर्ष भयो । सोहीबेला चुनौति मोल्नुपरेको थियो । जसअपजसको कुरा आयो । परिवारभित्रै यस्तो कुरा आउँछ भने विवाह चाहिं कसले गराइदिने भन्ने प्रश्न उब्जियो । त्यही क्रममा हामीले यो एउटा बिजनेस हुन्छ भनेर यस्तो कामको अवधारणा ल्याएका हौं । दुबै पक्षको सूचना एक अर्कामा लगिदिने काम गर्ने गर्छौ । जिम्मेवारी लिँदैनौं तर मध्यस्तकर्ता रुपमा चाहीं काम गर्र्छौ । सुरुवाती चरणमा एकदमै सकरात्मक पाएका थियौं ।

पहिले हामी सम्बन्धित व्यक्तिको सूचना लिन्छौं । रोजगारी, व्यवसाय के हो सबै बुझ्छौं । जानकारी लिन घरसम्म पनि पुग्छौं । पहिले आफैं विश्वस्त हुन्छौं । विश्वस्त भइसकेपछि उहाँहरुलाई विश्वस्त बनाउँछौं । पहिलेका लमीहरुले व्यक्तिगत रुपमा यो घर को केटा यस्तो छ, त्यो घरको केटा उस्तो छ भन्दै गर्नुहुन्थ्यो । तर हामी सिस्टममा गर्छौ । सबै कुरा हेर्नको लागि कर्मचारी राखेका छौं । फोटोहरु गुगल ड्राइभमा राख्छौं, फेसबुकमा पनि फोटो राख्छौं । गु्रपमा पनि सल्लाह हुन्छ । अनि बल्ल देखाउन थाल्छौं । विवाह भनेको दुईवटा परिवारको कुरा हो । त्यसैले दुई परिवारको संलग्न गराउछौं । शाकाहारी र मांशाहारी दुवैका लागि मिल्दो जोडी खोज्छौं । काठमाडौंमा घर चाहीएकोलाई त्यही अनुसारका व्यक्ति पहिचान गर्छौं ।

सूचना आदानप्रदान गर्दा पनि गोपनियताको ख्याल राखेका हुन्छौं । सुनाउनुभन्दा पहिले व्यक्तिको नाम, फोन नम्बर राख्छौ तर ठयाक्क ठेगाना दिँदैनौं । यो ठाउँमा घर छ भन्यो, सक्यो । यत्तिको मान्छे ठिक छ कुरा अगाडि बढाउँ भन्ने भएपछि मात्र फोटो पठाउँछौं । सबै कुरा बताइदिन्छौं । पहिले त मागी विवाहमा जात समुदाय चाहिन्छ, जात मिलेन भने हुँदैन् । उहाँहरुले यो चाहीं जातकोसँग चाँही गर्छु भन्नुभयो भने प्रक्रिया अघि बढाउने हो । कम्पनी भएकाले ग्राहकले जे सुविधा माग्छन् त्यही दिने हो । हाम्रो प्रचलन के छ भने केटीले पाएक पर्ने ठाउँमा बोलाउँछ र त्यहाँ केटा जानुपर्छ । व्यक्तिगत गोपनियतालाई बढि ध्यानमा राखेर काम गर्ने गछौं ।

विदेशमा केटाकेटी भए जुम मिटिङ गराउने गराउँछौं । मिटिङ चाही मन परिसकेपछि लगभग बिहे हुन्छ है भन्ने भएपछि गराउने हो । त्यसपछि शुल्कको कुरा आउँछ । पहिले ५० प्रतिशत लिन्छौं । अनि नाम ठेगाना नम्बर सबै दिन्छौं । त्यसपछि आफैं पनि जान सक्नुहुन्छ भनेर सम्झाउँछौं । यहाँ आउने व्यक्तिको ठकुमेन्ट भनेको व्यक्तिको सम्पूर्ण विवरण लिन्छौं । नाम, थर, गोत्रको विवरण लिन्छौं । मावलीको थरसँग विवाह गर्न नहुनेले सोही अनुसारको जानकारी लिन्छौं । अरु डाटासँग म्याचिङ गर्छाैं ।

हामीसँग प्रायः डिभोर्स भएका, पहिलो विवाह विग्रेका व्यक्तिहरु आउनुहुन्छ । पछिल्लो समयमा अलिकति पाको उमेरका व्यक्तिहरु पनि आउन थाल्नुभएको छ । नयाँ व्यक्ति वा भर्खर विवाह गर्न उमेर पुगेकाहरु पनि आउनुहुन्छ । तर संख्यात्मक रुपमा ७० प्रतिशत डिभोर्स भएको र अलि बढि उमेरको हुनहुुन्छ । दिमागको औषधिहरु खानेहरु अर्थात मनसिक सन्तुलन राम्रो नभएकाहरु पनि आउनुहुन्छ । आजभोलि चाँही धेरैजसो प्रेम विवाह नै बढी हुन थालेको छ । प्रेम असफल हुनेहरु पनि आउनुहुन्छ । सम्बन्ध थियो भर्खरै बिग्रयो, जोडी खोजिदिनुपर्यो, बिहे अहिले नै गर्दिन दुई वर्षसम्म हेर्छु, विचार गर्छु भन्ने खालको मानिसहरु पनि आउनुहुन्छ । नेपालको कानुनले दिएको मात्र काम गर्छौं । त्यो भन्दा बाहेक गर्दै गर्दैनौं । कुनै हालतमा गर्दैनौं, बरु काम नगरी बस्छौं । कहिलेकाँही १८ वर्षको भए केटी खोजिदिनुहोस भन्नेहरु पनि आउनुहुन्छ । त्यस्तालाई हामी अब दुई वर्ष चुप लागेर बस्नुहोस भन्र्छौ । हामीसँग आएर बिहे गर्नेले सयौंबाट छान्ने हो । त्यसैले पनि परम्परागत लमी भन्दा धेरैको रोजाइमा पर्न सकेका हौं ।

बिहे गराइदिने नाममा मानव बेचबिखन हुने गरेको सुन्र्छौ । यस विषयमा संवेदनशील छौं ।  विहे गरेर विदेश लैजान्छु भन्दै आउनेहरुप्रति अलिक शंका लाग्ने गर्छ । त्यसको मजाले अध्ययन गरेर गैरकानुनी हो कि जस्तो लाग्यो भने च्याप्टर बन्द गर्छौ । आधिकारिक डकुमेन्टहरु राम्रोसँग चेकजाँच गरेर मात्र प्रकृया अगाडि बढाउँछौं । त्यसैले पनि त्यस्तो समस्या आउँदैन् । संस्था दर्ता गरिसकेपछि हामीले लगभग २१ जोडीको विवाह गराइसकेका छौं । त्यसमध्ये १३–१४ जोडी डिभोर्सवाला हुनुहुन्छ भने अरु नयाँ जोडीको विहे गराइदिएका र्छौ । आजसम्म कुनै ठाउँबाट गुनासो आएको छैन् । संस्थामार्फत समाजमा केही न केही योगदान दिने काम गरेका छौं भन्ने लाग्छ । अपाङ्ग, मानसिक रोगीहरुले पनि विवाह गर्न सफल हुनु भएको छ । त्यसैले पनि राम्रै काम गरेका छौं भन्ने लाग्छ । (नेपाल न्यूज बैंकसँगको कुराकानीमा आधारित)

प्रतिक्रिया दिनुहोस्