८ आश्विन २०८१, मंगलवार
मुख्‍य समाचार समाचार समाज

मन्दिर पुनःनिर्माण गर्न ‘हरेलो मेला’

२३ साउन, बलेवा (बागलुङ) । बलेवा कालभैरव मन्दिरको पुनःनिर्माण, प्रचारप्रसार, संरक्षण र प्रवर्द्धन गर्न ‘हरेलो मेला’ लाग्ने भएको छ । बागलुङ नगरपालिका–१२ अमलाचौरस्थित काल भैरवको मन्दिर परिसरमा हागामी भदौको पहिलो मङ्गलबार हरेलो मेला लाग्ने भएको हो ।

यसअघिका वर्षमा ऐतिहासिक मेलालाई निरन्तरता मात्रै दिइएका यस वर्ष मेलाबाट सङ्कलन भएको रकम वर्षौँ पुरानो मन्दिरको पुनःनिर्माणका योजना बनाइएको कालभैरव मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ढकालले जानकारी दिए ।

सङ्घीय सरकारबाट रु २७ लाख प्रदेश सरकारबाट रु १० लाख बजेटको व्यवस्थापन भइसकेको जनाउँदै उनले थप स्रोत जुटाउन मेला आयोजना गरिएको बताए। “यहाँ स्वःस्फूर्त हुने मेलालाई तीन वर्षदेखि समितिले व्यवस्थापन गर्दै आएको छ”, ढकालले भने, “यो वर्ष मेलाबाट हुने आम्दानी मन्दिरको पुनःनिर्माणमा लगानी गर्ने योजना बनाएका छौँ ।”

मेलामा भजन, पञ्चेबाजा, तीज गीतलगायत प्रस्तुतिका साथै छेलो फाल्ने प्रतियोगिता आयोजना गरिएको अध्यक्ष ढकालले जानकारी दिए। विभिन्न झाँकी तथा कलाकारको प्रस्तुति मेलामा रहनेछन् । मेला व्यवस्थापनका लागि विभिन्न उपसमिति गठन गरिएको छ । भैरवस्थान पुग्ने सडक सरसफाइ, मन्दिर परिसर सरसफाइ, शौचालय र खानेपानीको व्यवस्थापनसहित तयारी सुरु भइसकेका छन् ।

“यो ऐतिहासिक मेला हो, हरेलो मेलाले भैरवस्थानको प्रचारप्रसार र धार्मिक पर्यटन विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ”, समितिका कोषाध्यक्ष चन्द्रबहादुर खत्रीले भन्नुभयो, “परम्परालाई संस्थागत गर्न मेलाको महत्वपूर्ण भूमिका रहन्छ ।”

मेला व्यवस्थापनका लागि गण्डकी प्रदेश सरकार र बागलुङ नगरपालिकाले रु तीन तीन लाख विनियोजन गरेका छन् । साथै विभिन्न बैंक तथा वित्तीय संस्था, व्यक्तिगत सहयोग र मेला स्थलमा स्टलको व्यवस्थापन गरेर अन्य स्रोत सङ्कलन गरिने खत्रीले बताउनुभयो । उहाँका अनुसार मेलामा रु १३ लाख अम्दानी र रु १० लाख खर्च हुने अनुमान गरिएको छ । मेलाबाट सङ्कलन भएको रु तीन लाखले अन्य स्रोत सङ्कलनका लागि गर्न खर्च व्यवस्थापन गनृ सकिने भएकाले मन्दिर पुनःनिर्माणमा सहज हुने उनले बताए ।

हरेलो मेलामा आउने पर्यटकले बागलुङको पर्यटकीय घरबासको गाउँ भनेर चिनिने भकुण्डे, भकुण्डे भ्यू टावर, मुलाबारी पर्यटकीय क्षेत्र नजिकैबाट अवलोकन गर्न सक्छन् । भैरवस्थान आउने पर्यटकलाई बलेवा क्षेत्रमा रहेका अन्य धार्मिक तथा पर्यटकीय क्षेत्रमा पु¥याउन पहल गरिने ढकालले बताए।

बलेवा क्षेत्रमा पर्ने अग्लो बञ्जीजम्प, यान्त्रिक पुल, कालिगण्डकीमाथि बनेका अग्ला, लामा पुलहरु तथा जैमिनी धाम, गाजाको दहक्षेत्र र जैमिनीको हाँडिकोटलाई समेत जोड्न सकिन्छ । जिल्लाको एकमात्र विमानस्थल बलेवामा पर्ने गाउँ र सहरको समिश्रण जस्तै रहेको बलेवा क्षेत्रका बस्ती जिल्ला बाहिरबाट आउने पर्यटकका लागि आकर्षक गन्तव्य बन्ने बागलुङ–१२ का पूर्ववडाध्यक्ष गुरुदत्त पाठकले बताए।

बाइसे–चौबिसे राजाकापालादेखि बलेवा कोटअन्तर्गतका सबै क्षेत्रमा भदौको पहिलो मङ्गलबार हरेलो पर्व मनाउने चलन रहेको जनाउँदै सोही परम्परालाई निरन्तरता दिँदै आइएको उनले बताए ।

खेतीपाती सकेपछि कीरा–फट्याङ्ग्रा र बाढीपहिरो नलागोस् भनेर यो पर्व मनाउने चलन रहेको बलेवा, पैयूँपाटाका भवानीप्रसाद रिजालले बताए । “बलेवा क्षेत्रमा न्वाइ खाने, पुली लिने, हरेलो गर्ने जस्ता अनौठा प्रचलन छन्, यी प्रचलन पुराना हुन्”, उहाँले भन्नुभयो, “हाम्रो संस्कार र संस्कृति झल्किने यस्ता पर्वको प्रवर्द्धन आवश्यक छ ।”

यो पर्वको अवसरमा कालभैरवको पूजाआजा र प्रार्थना गर्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । दसैँको नवमीको दिन र हरेलोको दिन कालभैरव मन्दिरमा भक्तजाको घुइँचो लाग्ने गरेको बागलुङ–१२ अमलाचौरका वडाध्यक्ष कोपिलामणी शर्माले बताए । “बलेवा कालभैरव साविकको पश्चिमाञ्चलको प्रसिद्ध तीर्थस्थल हो । कालभैरवलाई पशु बलिसँगै नरिवल र फलफूल चढाउने प्रचलन छ”, उनले भने ।

कालभैरवमा बलि दिँदा घरपरिवारको दुःख नाश हुने र सुख, शान्ति प्राप्त हुने विश्वासले यहाँ आउने गरेको पर्वतको फलेवास नगरपालिका–५ की गीता पौडेलले बताए।

पछिल्लो समय पशुबलिको तुलनामा फलफूल चढाउने संस्कृति विकास हुँदै गएका बताउँदै पशुबलि दिने चलन अन्त्य भइनसकेको स्थानीय नन्दप्रसाद घिमिरेले बताउनुभए।

कालभैरवमा गण्डकी प्रदेशका पर्वत, म्याग्दी, स्याङ्जा, पाल्पा, नवलपुर, कास्की, तनहुँ, लमजुङ, गुल्मी, प्यूठान, अर्घाखाँची, चितवन, काठमाडौँलगायत स्थानबाट दर्शनार्थी आउने गरेका कालभैरव मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्