७ माघ २०८१, सोमबार
पर्यटन मुख्‍य समाचार समाचार

चार सय वर्ष पुरानो रक्तकाली मन्दिरको जिर्णोद्धार सम्पन्न

२३ साउन, भक्तपुर । मध्यपुरथिमि नगरपालिका‐५ कमेरोटारमा चार सय वर्ष पुरानो रक्तकालीको मन्दिरको जीर्णोद्धार सम्पन्न भएको छ ।

कमेरोटार जग्गा एकीकरण आयोजनाभित्र पर्ने उक्त मन्दिरको जीर्णोद्धारका लागि आयोजनाको रु ४९ लाख र स्थानीय उपभोक्ता समितिको रु दुई लाख गरी कूल रु ५१ लाखमा निर्माण सम्पन्न भएको रक्तकाली पुनःनिर्माण समितिका अध्यक्ष मधु वनले बताए ।

विगत आठ पुस्ता अगाडिदेखि स्थानीय वन परिवारले पुज्दै र संरक्षण गर्दै आएको उक्त मन्दिर जीर्ण भएपछि अहिले आयोजनाको सहयोगमा परम्परागत एवं मल्लकालीन शैलीमा निर्माण सम्पन्न भएको उहाँले जानकारी दिए ।

कुल सात आना क्षेत्रफल जग्गामा पुनःनिर्माण भएको रक्तकाली मन्दिरसँगै अन्य विभिन्न देवीदेवताका मन्दिरसमेत गरी मन्दिरको मूलद्वारलगायत सबै संरचना परम्परागत शैलीमा निर्माण सम्पन्न गरिएको समितिका सचिव मिनुकुमारी गिरीले जानकारी दिए।

मन्दिरसँगै खाली रहेको जग्गामा परम्परागत शैलीमा फल्चा अर्थात् पाटी निर्माणको तयारी भइरहेको जानकारी दिँदै समितिका अध्यक्ष वनले आयोजनाले विनियोजन गर्ने यस वर्षको बजेटले पाटी निर्माण सम्पन्न गर्ने बताए । मन्दिरमा ठूलो पीपलको रूखको संरक्षण गर्नाका साथै परम्परागत शैलीमा गणेश, शिवलिङ्ग, लक्ष्मी, सरस्वती, बङ्गलामुखी, सप्तऋषि, हनुमान, गरुड, अष्टचिरिञ्जीवी, सिद्धिविनायक, भैरव, सूर्यदेव, दोलखा भीमसेन, दक्षिणकालीलगायत विभिन्न देवीदेवताका साना मन्दिर निर्माण गरी मूर्ति स्थापना गरिएको छ ।

कमेरोटारका बासिन्दाका लागि मन्दिर ऐतिहासिक र परम्परागत शैलीमा पुनःनिर्माण सम्पन्न हुँदा आन्तरिक पर्यटनको वृद्धि हुने अपेक्षा राखिएको छ । मन्दिरको प्राणप्रतिष्ठा गरी कमेरोटार आयोजना उपभोक्ता समितिका अध्यक्ष एवं मध्यपुरथिमि नगरपालिकाका पूर्वनगरप्रमुख मदनकृष्ण श्रेष्ठले मन्दिरको उद्घाटन गरे ।

प्रतिक्रिया दिनुहोस्