३ आश्विन २०८१, बिहीबार
मुख्‍य समाचार समाचार

तीन दशकदेखि हेलिकोप्टर उडाइरहेका थिए पाइलट मल्ल

२३ साउन, काठमाडौं । बुधबार दुर्घटनामा ज्यान गुमाएका पाइलट अरुण मल्ल तीन दशकदेखि हेलिकोप्टर उडाइरहेका अनुभवी व्यक्ति हुन् । उनी यसअघि पनि दुर्घटनामा जोगिएका थिए ।

१० असोज २०७० मा काठमाडौंबाट लुक्लाका लागि उडेको एयर डाइनेष्टिकै हेलिकोप्टर उनले नै उडाएकोमा दुर्घटनामा परेको थिया । लुक्ला विमानस्थलमा ल्याण्ड गर्ने क्रममा दुर्घटना भएकोमा दुर्घटनामा दुई जना यात्रु घाइते भएका थिए भने पाइलट मल्ललाई केही भएन ।
यसपटक भने उनी जोगिन सकेनन् ।

रसुवाको स्याफ्रुबेँसीका लागि उडेको ९एन–एजेडी कलसाइनको हेलिकोप्टर शिवपुरी गाउँपालिका– ७ सूर्यचौर (सुइरेचौर)मा दुर्घटनामा परेको हो। हेलिकोप्टरमा पाइलट अरुण मल्लसहित चार चिनियाँ सवार थिए। सबैको मृत्यु भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उडान भरेको तीन मिनेटपछि नै हेलिकोप्टर काठमाडौं टावरसँग सम्बन्धविच्छेद भएको थियो।

ठिक दुई हप्ताअघि ९ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो। त्यसको जाँच चलिरेहका बेला अर्काे दुर्घटना भएको हो । बुधबारको दुर्घटनाको विषयमा पनि सरकारले जाँचबुझ आयोग गठन गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको आकस्मिक बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा जाँच आयोग गठन गरेको हो। आयोगमा विष्णु बस्न्यात र तनुजा पोखरेल सदस्य छन्।

प्रतिक्रिया दिनुहोस्