३ आश्विन २०८१, बिहीबार
प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

सहजपुर–बिपीनगर–बोगटान सडक हस्तान्तरण

२८ साउन, गोदावरी । सहजपुर–बिपीनगर–बोगटान सडक कालोपत्र गर्ने काम सम्पन्न भएसँगै सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गरिएको छ ।

निर्माणाधीन सहजपुर–बिपीनगर–बोगटान सडकको ५० किलोमिटर पिएलआर–कुमार जेभीले निर्माण गरेको हो । सहजपुर–बिपीनगर–बोगटान सडकका सिनियर डिभिजनल इन्जिनियर सबिन जोशीले गत आर्थिक वर्षको असार २६ गते सडक निर्माणको सबै प्रक्रिया पूरा भएर नेपाल सरकारको मातहतमा रहेको सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गरिएको बताए ।

कैलालीको सहजपुरदेखि डोटीको गाडेबाँजसम्म ५० किलोमिटरमध्ये तीन सय ५० मिटरबाहेक अरू सबै सडक कालोपत्र गर्ने काम पूरा भइसकेकाले हस्तान्तरण गरिएको उनले बताए । आयोजना कार्यालयले दिएको जानकारीअनुसार उक्त सडक खण्डमा सडक बोर्ड मार्किङ, जेब्रा क्रसिङलगायत सबै काम सम्पन्न गरेर निर्माण कम्पनीले सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गरेको जोशीले जानकारी दिए ।

उक्त सडकमा क्षेत्राधिकारको विवाद, रूख कटान अनुमतिमा ढिलाइ, चट्टान, कोरोना महामारीलगायत विभिन्न बाधा व्यवधानका कारणले सडक निर्माण अवधि लम्बिएको आयोजना कार्यालयले जनाएको छ । विसं २०७५ फागुनमा कैलालीको सहजपुरबाट डोटीको बडीकेदारसम्म ५० किलोमिटर सडक कालोपत्रका लागि ३६ महिनामा सडक निर्माणको काम पूरा गर्न ठेक्का सम्झौता भएको थियो । सम्झौताको पाँच वर्षपछि सडक निर्माणले पूर्णता पाएको कम्पनीले जनाएको छ ।

कैलालीको सहजपुरबाट डोटीको बडीकेदार गाडेबाँजसम्म ५० किमी सडक कालोपत्रका लागि २०१८ डिसेम्बर ५ मा पिएलआर–कुमार जेभीसँग सम्झौता गरिएको थियो । सम्झौतानुसार सन् २०२१ जुन १७ मा सात मिटर चौडा कालोपत्र र कालोपत्रको दायाँबायाँ एक–एक मिटर सोल्जर (ग्राभेल) सडक निर्माण गरिसक्नुपर्ने हो । निर्माण कम्पनीले विभिन्न समस्या देखाउँदै निर्माण लम्बिँदै गएको जनाइएको छ ।

एक्जिम बैङ्क अफ इन्डियाको ऋण सहयोगमा निर्माण भएको सो सडक आयोजनाको सम्झौता रकम एक करोड ९६ लाख ९३ हजार तीन सय १२ अमेरिकी डलर रहेको जनाइएको छ । विसं २०४३ देखि सहजपुर–बिपीनगर–बोगटान सडकको ट्र्याक खोल्ने काम सुरु गरिएको थियो । कैलालीको सहजपुरबाट सुरु भएको सडक डोटीको बिपीनगर, अत्तरकाँडा, सिमचौर, लाना, चवराचौतारा, गगुडा, तिखात्तर, रानागाउँ हुँदै राजपुर दिपायल जोडिनेछ । आयोजना कार्यालयले सहजपुर–बिपीनगर–बोगटान दीपायलसम्म सर्वे गर्ने क्रममा एक सय आठ किलोमिटर सडकको लम्बाइ रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्