३ आश्विन २०८१, बिहीबार
मुख्‍य समाचार समाचार समाज

पछि हटे हर्क साम्पाङ, धरानको खानेपानी विवाद समाधान

२८ साउन, काठमाडौं । धरान उपमहानगरपालिकाको खानेपानी विवाद समाधान भएको छ । मेयर हर्कराज राई यसअघि गरेको निर्णयबाट पछि हटेसँगै दुई सातादेखि जारी विवाद समाधान भएको हो ।

धरानका मेयर हर्क साम्पाङ राई र त्यहाँ क्रियाशील दलका प्रतिनिधिबीच आइतबार राति अबेरसम्म वार्ता चलेकाे थियाे । त्यही छलफलमा महसुल वृद्धिको निर्णय फिर्ता लिने सहमति जुटेको हो ।

धरान उपमहानगरपालिकाका एक जनप्रतिनिधिले वृद्धि गरिएको खानेपानीको महसुल कार्यान्वयन नगर्ने सहमति भएको जानकारी दिए । त्यस्तै, खानेपानी बोर्डबारे अदालतले गरेको फैसला कार्यान्वयन गर्ने, बोर्डको हिसाब सार्वजनिक गर्नेलगायत बुँदामा पनि दुई पक्षबीच सहमति जुटेको छ ।

तीन साताअघि धरान उपमहानगरपालिकाले खानेपानीको शुल्क वृद्धि गर्ने निर्णय गरेको थियो । योसँगै त्यहाँका राजनीतिक दल तथा उपभोक्ता त्यसप्रति असन्तुष्टि जनाउँदै निर्णय खारेजीको माग राखेर संघर्षमा उत्रिएका थिए । आइतबार राति माग सम्बोधन भएसँगै उनीहरूले संघर्षका सबै कार्यक्रम फिर्ता लिएका छन् ।

धरानका मेयर हर्कराज राईमा आफूले लिएका निर्णयबाट पछि नहट्ने स्वभाव छ । आफूले चालेका कदमबाट राई पछि हटेको सम्भवत: यो पहिलो घटना हो ।

प्रतिक्रिया दिनुहोस्