४ आश्विन २०८१, शुक्रबार
अन्तराष्ट्रिय मुख्‍य समाचार समाचार समाज

पाकिस्तान–अफगानिस्तान सीमाक्षेत्रमा भएको झडपमा तीनजनाको मृत्यु भएको तालिबानको दाबी

२९ साउन, पाकिस्तान । तालिबान अधिकारीहरूले मङ्गलबार उत्तरी सीमामा भएको झडपमा पाकिस्तानी सेनाले एक महिला र दुई बच्चासहित तीन जना सर्वसाधारणको हत्या गरेको आरोप लगाएका छन् ।अफगानिस्तानको नङ्गरहार प्रान्तको तोरखाम सीमा नजिकै सोमबार दुई देशबीच झडप भएको हो ।

सन् १८९६ मा बेलायतीहरुले कायम गरेको काबुलद्वारा विवादित २४०० किलोमिटर सीमा क्षेत्रमा कोरिएको डुरान्ड रेखा नजिकै चेकपोष्ट निर्माणलाई लिएर पाकिस्तान र अफगानिस्तानका सेनाबीच नियमित झडप भइरहेको छ । “पाकिस्तानी सेनाले सर्वसाधारणको घरलाई निशाना बनाएर आक्रमण गर्दा एक महिला र दुई बच्चाको हत्या गरेको छ”,आन्तरिक मन्त्रालयका प्रवक्ता अब्दुल मतीन कानीले मङ्गलबार सामाजिक सञ्जाल एक्समार्फत भने ।

अफगानिस्तानको रक्षा मन्त्रालयका प्रवक्ता इनायतुल्ला ख्वाराजमीले भने,“यो झडप पाकिस्तानीहरूले सुरु गरेका हुन् । जब हाम्रो सेनाले तोरखाम सीमामा रहेको काल्पनिक डुरान्ड रेखामा चौकी निर्माण गर्ने प्रयास गरिरहेको थियो तब पाकिस्तानी सैनिकहरूले हाम्रो सेनामाथि गोली प्रहार गरेका हुन् र हाम्रो सेनाले उक्त प्रहारको जबाफ दिँदा यो झडप भएको हो ।”

तोरखाममा पाकिस्तानतर्फका एकजना सीमा अधिकारीले झडपमा तीनजना पाकिस्तानी सैनिक घाइते भएको बताए । पाकिस्तानी अधिकारीहरूले तीनजना अफगानी नागरिक मारिएको आरोपमाथि कुनै प्रतिक्रिया दिएका छैनन् । सन् २०२१ मा तालिबान सरकारले सत्ता कब्जा गरेपछि दुई देशबीचको सीमा तनाव निरन्तर बढेको छ । झडपमा दुवै पक्षबाट भारी हतियार प्रयोग भएको र तोरखाम सीमा बन्द गरिएको पाकिस्तानी अधिकारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्