शेख हसिनाले हटाएकी थिइन् बंगलादेशमा भारतीय फिल्ममाथिको प्रतिबन्ध
शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि बंगलादेश यतिबेला चर्चामा छ । नेतृ हसिना बंगलादेशमा हिन्दी फिल्म रिलिजको बाटो खोल्ने व्यक्ति हुन् । बंगलादेशले सन् १९७१ मा भारतीय फिल्मको प्रदर्शनमा प्रतिबन्ध लगाएको थियो ।
हसिनाले सन् २०२३ मा यो प्रतिबन्ध हटाएकी थिइन् । किनभने त्यहाँको फिल्म उद्योग निकै कमजोर अवस्थामा थियो । शाहरुख खानको फिल्म ‘पठान’ प्रतिबन्ध हटेको ५१ वर्षपछि बंगलादेशमा रिलिज भएको पहिलो भारतीय फिल्म हो ।
बंगलादेशी फिल्म उद्योगको कुरा गर्दा यसलाई ढलिउड पनि भनिन्छ । यस फिल्म उद्योगको राजधानी ढाका हो । भारतमा हरेक वर्ष औसत दुई हजार फिल्म बन्छन् भने बंगलादेशमा मात्रै वर्षमा ७०-१०० फिल्म बन्छन् ।
९० को दशकमा हरेक बंगलादेशी फिल्ममा हिन्दी फिल्मको नक्कल गरिएको हुन्थ्यो । दर्शकलाई हलमा तान्न बंगलादेशी निर्माताले सन् २००० पछि अश्लील फिल्मको सहारा लिएका थिए, जसकारण त्यहाँको फिल्म क्षेत्र खुम्चिन बाध्य भयो । त्यो समस्याबाट त्यहाँको फिल्म अहिले पनि मुक्त हुन सकेको छैन ।
बंगलादेशमा एक हजारभन्दा बढी हल बन्द
स्वतन्त्रतापछि बंगलादेश सरकारले सन् १९७२ मा कुनै पनि विदेशी फिल्मलाई आफ्नो देशमा देखाउन अनुमति नदिने निर्णय गर्यो । स्थानीय फिल्मलाई त्यहाँ प्रवर्द्धन गर्ने सरकारको निर्णयको तर्क थियो । तर यो निर्णय उल्टो भयो ।
८०-९० को अवधिमा बंगलादेशमा दर्शकलाई मनोरञ्जन दिने खालका फिल्म बन्न सकेनन् । त्यतिबेला ढलिउडमा नक्कल गर्ने चलन थियो । लगभग हरेक फिल्म हिन्दीबाट नक्कल गरेर बनाइएका थिए । निर्माता केवल बंगाली फिल्मलाई मात्र हलमा चलेको हेर्न चाहन्थे ।
९० को दशकमा बंगलादेशमा करिब १५ सय सिनेमा हल थिए तर घिसिपिठी बङ्गाली फिल्मका कारण दर्शक थिएटर जान छाडे । मनी कन्ट्रोलको रिपोर्टअनुसार बंगलादेशमा २० वर्षदेखि एक हजारभन्दा बढी हल बन्द छन् । अधिकांश फिल्म हलका मालिकले आफ्ना थिएटरलाई सपिङ सेन्टर वा अपार्टमेन्टमा परिणत गरेका छन् । यस्तो अवस्थामा सन् २००० सम्ममा फिल्मतर्फ जनताको ध्यान कसरी खिच्ने भन्ने समस्या निर्माणकर्तालाई परेको थियो ।
जब बंगलादेशका पहिलो सुपरस्टारले आत्महत्या गरे
सन् १९९३ पछि बंगाली फिल्म उद्योगलाई बलिउड अभिनेता सलमान शाहको माध्यमबाट पुनर्जीवित गर्ने मौका मिल्यो । शाहको डेब्यु फिल्म ‘किमत थेके किमत’ थियो जुन हिन्दी फिल्म ‘कयामत से कयामत तक’ को रिमेक थियो । यो फिल्म सुपरहिट भयो र सलमान चम्किए ।
यसपछि उनले धेरै फिल्म ‘ब्याक टु ब्याक’ पाए । सन् १९९४ मा उनका ६ वटा फिल्म रिलिज भए जसमध्ये अधिकांश हिट सावित भए । केही समयमै सलमानलाई बंगलादेशी फिल्मको पहिलो सुपरस्टार भनिन थाल्यो ।
फ्यानमाझ उनको क्रेज अचम्मको थियो र दर्शकलाई थिएटरमा तान्ने शक्ति सलमानमा मात्र थियो । सलमानलाई फ्यानमाझ ‘प्रिन्स अफ धालिउड’ भनेर चिनिन्थ्यो । सन् १९९६ मा उनका ९ फिल्म लगातार प्रदर्शन भए जसले हललाई जीवन्त बनायो । २४ वर्षको उमेरमा शाहको शंकास्पद अवस्थामा मृत्यु भयो । उनको शव आफ्नै अपार्टमेन्टको पंखामा झुण्डिएको अवस्थामा फेला परेको थियो । शाहले आत्महत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
अश्लील फिल्मले बंगलादेशी फिल्म उद्योगलाई ध्वस्त पारेको छ
सलमान शाहको मृत्युपछि दर्शकमा थिएटरप्रति मोहभंग भयो । सन् २००० सम्ममा थिएटर मालिक र निर्माताले सस्तो रणनीति अपनाए जसले बंगलादेशी फिल्मको पतन सुरु भयो । वास्तवमा निर्माताले अश्लील फिल्ममार्फत दर्शकको ध्यान आकर्षित गर्न खोजेका थिए । यसलाई बंगलादेशी फिल्मको इतिहासमा ‘कट पिस एरा’ भनिन्छ जसले फिल्म उद्योगलाई ध्वस्त पारेको थियो ।
बंगलादेशमा भल्गर फिल्मको सुरुवात सन् १९९९ मा आएको फिल्म ‘रंगा बाउ’बाट भएको थियो । जसमा ऋतुपर्णो सेनगुप्ता, अमिन खान र हुमायुन फरीदीको मुख्य भूमिका थियो । यसका निर्देशक मोहम्मद हुसैन थिए । फिल्ममा धेरै रोमान्टिक दृश्य र भल्गर डान्स मुभ देखाइएको थियो । यसले दर्शकलाई हलमा आकर्षित गर्ने र डुब्दै गएको फिल्मको व्यवसायलाई पुनर्जीवित गर्नेमा निर्माता विश्वस्त थिए । मिडिया रिपोर्टका अनुसार यी सबै शक्तिशाली राजनीतिज्ञको सहमतिमा हुन्थ्यो ।
बंगलादेशमा यसरी नै अर्को फिल्म बन्न थाल्यो र बीचमा पोर्न फिल्मको क्लिप पनि हालियो, ताकि दर्शक बीचमै थिएटर छोडेर नजाओस् । त्यो अवधिमा मयुरी, नोड्डी, अलेक्जेंडर बो, मेहन्दी, मुनमुन पोर्न फिल्मका ठूला स्टार बनेका थिए । यो अवधिलाई ‘बंगलादेशी सिनेमाको अन्धकार युग’ भनिन्छ ।
अश्लील फिल्मलाई सन् २००७ मा बन्द गरियो
बंगलादेशी फिल्मलाई हलमा पोर्न फिल्मले विस्थापित गरेको छ । यसले बंगलादेशी फिल्मलाई ठूलो नोक्सान पुर्यायो, जसलाई हटाउन सन् २००३ मा अश्लील फिल्मविरुद्ध आन्दोलन सुरु भयो ।
फिल्म डेभलपमेन्ट कर्पोरेसनअघि कलाकारले प्रदर्शन गर्न थाले । फलस्वरूप, सरकारको हस्तक्षेपले बंगलादेशी फिल्म अन्ततः सन् २००९ मा अश्लील फिल्मको चंगुलबाट मुक्त भयो ।
मौलिक फिल्म नहुँदा गहिराइमा कठिनाइ
८० को दशकमा बंगलादेशमा सुरु भएको भारतीय फिल्मको नक्कल गर्ने चलन आजसम्म जारी छ । केही फिल्मकर्मी बाहेक आज पनि बंगलादेशमा मौलिक फिल्म बनाउनेको संख्या निकै कम छ । यही कारण ९० को दशकदेखि यो फिल्म क्षेत्र सीमान्तकृत भएको थियो ।
विगत दश-पन्ध्र वर्षमा ‘अयंबाजी’, ‘मोनपुरा’, ‘ढाका अट्याक’ जस्ता फिल्मलाई मात्र मौलिक मानिन्छन् । यही कारण बंगलादेशी दर्शकले उनीहरूको प्रशंसा गरे र हेर्न हलसम्म पुगे ।
शेख हसिनाले ७०० करोडको फन्ड दिएकी थिइन्
बंगलादेशी फिल्म उद्योगले सुरुमा सरकारबाट सहयोग पाएन । यो फिल्म उद्योगलाई अनाथ भनिन्थ्यो । तर सन् १९९६ मा शेख हसिना पहिलो पटक प्रधानमन्त्री भएपछि स्थितिमा उल्लेख्य सुधार आएको थियो ।
यो फिल्म क्षेत्रलाई पहिलो पटक सन् २००१ मा उद्योगको दर्जा दिइएको थियो । यससँगै बंगलादेश फिल्म विकास निगम (बीएफडीसी) पनि स्थापना भएको थियो । लामो समयदेखि सरकारले हरेक वर्ष केही फिल्म उद्योगलाई अनुदान पनि दिने गरेको छ ।
गत वर्ष नै शेख हसिनाले फिल्म निर्मातालाई राम्रो फिल्म बनाउनमा ध्यान दिन आग्रह गरेकी थिइन् । वास्तवमा घरेलु फिल्मको दयनीय अवस्थालाई ध्यानमा राख्दै निर्माता फिल्ममा पैसा लगानी गर्न चाहँदैनन्, जसकारण बंगलादेशमा फिल्मको भविष्यमाथि संकट गहिरिंदै गएको छ ।
शेख हसिनाले पनि सन् २०२२ मा देशमा फिल्म हलको अवस्था सुधार्न र नयाँ मल्टिप्लेक्स निर्माण गर्न ७०० करोड भारुको कोष घोषणा गरेकी थिइन् ।
शेख हसिनाले हिन्दी फिल्ममाथिको प्रतिबन्ध हटाएकी थिइन्
सन् १९७२ मा बंगलादेशमा भारतीय फिल्म रिलिजमा प्रतिबन्ध लगाइएको थियो । त्यहाँको स्थानीय उद्योगको प्रवर्द्धन होस् र रोजगारी पनि बढोस् भन्ने उद्देश्य राखिएको थियो । तर कैयौं पटक नियम बदलिए र हिन्दी फिल्म रिलिज भए तर ती असफल साबित भए । सन् २००९ मा आमिर खानको ‘थ्री इडियट्स’ र सन् २०१० मा शाहरुख खानको ‘माई नेम इज खान’ बंगलादेशमा रिलिज भए पनि स्थानीय फिल्म संगठनको विरोधका कारण हलबाट हटाउनुपर्ने बाध्यता थियो ।
सन् २००९ मा सलमान खानको फिल्म ‘वान्टेड’ भारतमा रिलिज भएको थियो । सन् २०१५ मा बंगलादेशमा पनि रिलिज भएको थियो । तर केही स्थानीय सिनेमा संघसंस्थाले फिल्म रिलिजको विरोध गरेका छन् । त्यसपछि एक हप्तासम्म चलिरहेको ५० थिएटरबाट ‘वान्टेड’ हटाइयो ।
आठ वर्षपछि सन् २०२३ मा बंगलादेशी फिल्म क्षेत्रको कमजोर अवस्था देखेर शेख हसिनाले त्यहाँ विदेशी फिल्म रिलिजमा लगाइएको प्रतिबन्ध हटाइन् । बंगलादेश सरकारले १० वटा विदेशी फिल्म देशमा व्यावसायिक रुपमा रिलिज गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्