४ आश्विन २०८१, शुक्रबार
राजनीति समाचार

‘जनयुद्ध’लाई ‘हिंसात्मक द्वन्द्व’ भनेकोमा प्रचण्डको आपत्ति

३० साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही नेताले ‘जनयुद्ध’लाई ‘हिंसात्मक द्वन्द्व’ भनेकोप्रति आपत्ति जनाएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा प्रचण्डले संविधानसभामा गरेका सहमति केही नेताले बिर्सन खोजेको भन्दै संविधानको प्रस्तावनामै ‘जनयुद्ध’ शब्द समेटिएको विषय स्मरण गराए। ‘अहिले पनि नेताहरू बोल्दाखेरि हिंसात्मक द्वन्द्व भन्ने गर्नुहुन्छ ।  माओवादी जनयुद्ध शब्द प्रयोग गर्‍याे भने जातै जालाजस्तो गर्नुहुन्छ । जब कि संविधानसभाबाट माओवादी जनयुद्ध भनेर लेखिएको छ,’ प्रचण्डले भने।

जनयुद्ध कुनै लहड वा मनोगत चाहना नभएको प्रस्ट पार्दै उनले यसको मूल चरित्र ध्वंसात्मक नभएको बताए। ‘अहिलेको लोकतान्त्रिक गणतन्त्रको आडमा शान्तिसम्झौता रहेको छ भने शान्तिसम्झौताको आधार नेपाली जनताले वीरतापूर्वक लडेको जनयुद्ध थियो । जुन कुनै लहड या मनोगत चाहना थिएन । न त यसको मूल चरित्र ध्वंसात्मक नै थियो,’ उनले भने।

४६ सालको जनआन्दोलनले केही राजनीतिक वातावरण सहज बनाए पनि नेपाली समाजको आधारभूत समस्या समाधान गर्न नसकेको प्रचण्डको भनाइ छ। उक्त जनआन्दोलनले ल्याएको शान्ति मुठ्ठीभर केही समूहले मात्र उपभोग गरेका उल्लेख गर्दै प्रचण्डले माओवादीले नेपाली समाजका सीमान्तकृत समुदायले समेत भोग्न पाउने शान्तिका लागि जनयुद्ध सुरु गरेको स्पष्टीकरण दिए।

‘०५२ सालमा क्रान्ति सुरु हुनुअघि शान्ति मुख्यतः सम्भ्रान्त र सहरी क्षेत्रमै सीमित थियो । ग्रामीण क्षेत्रका अधिकांश जनता र तल्लो वर्गका जनता त्यसमा पनि विशेष गरी महिला, दलित, मुस्लिम, मधेशी, थारू, आदिवासी जनजातिलगायत किसान र श्रमिकहरू भने यो प्रक्रियाबाट लाभान्वित हुन सकिरहेका थिएनन्,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्