४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

३० साउन,  काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत प्राप्त गरेका छन् । बुधबारको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत पाएका हुन् ।

शाहले सभामा पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा ३६ जना प्रदेश सभा सदस्यले मतदान गरेका हुन् । ५३ सदस्यीय प्रदेश सभामा शाहलाई नेपाली काँग्रेसका १८, नेकपा एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका ७ गरेर ३६ जना प्रदेश सभा सदस्यले मुख्यमन्त्रीलाई विश्वासको मत दिएका हुन् ।

बैठकमा सहभागी माओवादी केन्द्रका ४ र नेकपा एकीकृत समाजवादी पार्टीका ४ गरेर ८ जना प्रदेश सभा सदस्यले विपक्षमा मतदान गरेका छन् । स्वतन्त्र प्रदेश सभा सदस्य डा. ताराप्रसाद जोशी भने तटस्थ बसेका छन् । राप्रपाकी खेमादेवी बिष्ट र माओवादी केन्द्रका ६ जना प्रदेश सभा सदस्य बैठकमा उपस्थित थिएनन् ।

सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्री शाहले राखेको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा बहुमत प्रदेश सभा सदस्यले मतदान गरेको भन्दै प्रदेश सभाबाट प्रस्ताव स्वीकृत भएको घोषणा गरेका थिए ।

संघमा राजनीतिक समीकरण फेरिएर काँग्रेस र एमालेको गठबन्धन बनेपछि २० साउनमा शाह मुख्यमन्त्रीमा शाह नियुक्त भएका थिए । २१ साउनमा पदभार ग्रहण गरेका शाहले सोही दिन मन्त्रिपरिषद्लाई पूर्णता दिएका थिए । शाहले यसअघि माओवादी, एकीकृत समाजवादीसहितको समर्थनमा १४ महिना प्रदेश सरकारको नेतृत्व गरेका थिए ।

मुख्यमन्त्रीले विश्वासको मत पाएसँगै प्रदेश सरकारले अब चाडै चालु आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याउने तयारी गरेको छ । यसअघि दीर्घ बहादुर सोडारी नेतृत्वको सरकारले ल्याएको बजेट राजनीतिक समीकरण फेरिएपछि प्रदेश सभाबाट पारित हुन सकेको थिएन । बजेट पारित नभएपछि सुदूरपश्चिम १ साउनदेखि बजेट शून्यतामा गएको थियो ।

शाह नेतृत्वको सरकार आएपछि तत्काल रोकिएको राजश्व संकलनको कामलाई सुचारु गर्न सामयिक कर संकलन सम्बन्धी अध्यादेश ल्याएको थियो । सरकारको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले उक्त अध्यादेश प्रमाणीकरण गरेपछि मंगलबार बसेको प्रदेश सभाको बैठकबाट बहुमतले स्वीकृत समेत भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्