३० कार्तिक २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

२५ वर्षदेखि बुवा बेपत्ता, नागरिकता नबन्दा परिवारको भविष्य अन्योल

२ भदौ, जनकपुरधाम । सर्लाही हरिवन नगरपालिका–१०, घुर्कौलीचोकको एउटा छाप्रोमा खाजा पसल छ । लिट्टी, समोसा, चिया, मिठाइ पाइने खाजा पसल प्रविणकुमार महतोको परिवारको जीवन चलाउने एकमात्र आधार हो ।

छाप्रोमा चलाइरहेको त्यही खाजा पसलबाट महत्ताको परिवारका ६ सदस्यको छाक त जेनतेन टर्छ । तर उनको परिवारको भविष्यको अन्योल टरेको छैन । प्रविणको ठूलो पीरलोको विषय हो, अनागरिक हुनु !

२७ वर्षीय प्रविणसँग नेपाली नागरिकता नहुँदा आफू त अनागरिक भए नै, श्रीमति र ३ जना सन्तानको जन्मदर्ता पनि गराउन पाएका छैनन् ।

‘नागरिकता नहुँदा परिवारको भविष्य नै अन्योल भएको छ । के गर्ने, के नगर्ने भएको छ’, प्रविण भन्छन्, ‘बुबा २५ वर्षदेखि बेपत्ता हुनुहुन्छ । आमाको नागरिकता आधारमा लिन जिल्ला प्रशासन कार्याय धनुषा महिनौं धाउँदा पनि पाइनँ ।’

प्रविण २ वर्षको हुँदा बुवा चलित्तर महतो मजदुरी गर्न भन्दै पञ्जाब हिँडे । गाउँघरमै मजदुरी गर्दागर्दै भारत पसेका उनी परिवारको सम्पर्कमा नआएको २५ वर्ष भइसकेको छ ।

विपन्न परिवारका अभिभावक चलितर र श्रीमती रामकुमारी गाउँघरमै मजदुरी गर्थे । ३ छोराछोरीसहित पाँच जनाको परिवार पाल्न बेलाबेला भारतको पञ्जाव आउजाउ गरिरहन्थे ।

अन्तिम पटक पनि फर्केर आउँछन् कि भनेर वर्षौंसम्म परिवारले प्रतीक्षा गरे पनि उनी नआएको प्रविणले बताए । २०६३ मा नागरिकता टोली गाउँगाउँमा खटिँदा माइत र गाउँसमाजको जोडबलमा श्रीमती रामकुमारीको भने जन्मसिद्ध नागरिकता वैवाहिक आधारमा बनेको थियो ।

रामकुमारीले मजदुरी गरेर जेनतेन प्रविणसहित ३ छोराछोरीलाई हुर्काइन् । जेठी छोरी पार्वती र कान्छी कविताको माइतको सहयोगमा जेनतेत बिहेबारी भयो । दुवैको नागरिकता बनिसकेको छ ।

आमाको नागरिकता लिएर कैयौं पटक प्रशासन धाउँदा पनि आफूले नागरिकता नपाएको प्रविणको गुनासो छ । घुर्कौलीदेखि जिल्ला प्रशासन कार्यालय धनुषामा धपेडी गर्दा डेढ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको उनी बताउँछन् ।

‘यातायात, खाजा र बस्न गरी डेढलाख रुपैयाँ खर्च भयो । यता पसल बन्द गरेर धाउँदा नियमित ग्राहक आउन छाडेर व्यवसायमा ठूलो असर भयो’, प्रविण भन्छन्, ‘मेन्टेन गर्न कयौं महिना लाग्यो । केही समय यता मात्र मेन्टेन भइरहेको छ ।’

प्रविणको नागरिकता नहुँदा ३ जना छोराको पनि जन्मदर्ता बन्न सकेको छैन । जसले उनीहरु सामुदायिक विद्यालयमा पढ्न नपाएको उनले गुनासो पोखे । जन्मदर्ता नहुँदा पढ्ने उमेर पुगेका २ छोरालाई सामुदायिक विद्यालयले भर्ना लिन नमानेको उनको भनाइ छ ।

बाध्य भएर स्थानीय निजी विद्यालयमा छोरा अमित र दिपेशको भर्ना गर्नुपरेको प्रविणले बताए । निजी स्कुलमा उनले वार्षिक ५५ हजार रुपैयाँ बुझाउनुपर्दा आफूलाई पनि आर्थिक भार परेको उनको भनाइ छ ।

‘जन्मदर्ता छैन भने भर्ना लिन सकिँदैन सरकारी स्कुलले भन्यो’, प्रविण भन्छन्, ‘पढेन भने मेरो बालबच्चाको भविष्य अन्धकार हुन्छ । बोर्डिङ स्कुलले भर्ना लियो । त्यसमै चर्को शुल्क तिरेरै भएपनि पढाइरहेको छु ।’

मासिक ६ हजारमा साढे ४ धुर जग्गा भाडमा लिएर चलाइरहेको खाजा पसल पनि राम्रोसँग चल्न छोड्दा प्रविणलाई घरपरिवारकै जोहो गर्न मुस्किल हुन्छ । आम्दानीको बाटो खोज्दै वैदेशिक रोजगारमा जान नखोजेका पनि होइनन् । तर त्यहाँ पनि उनको नागरिकता नै बाधक भइदियो ।

‘नागरिकता बिना त केही सहज छैन । विदेश जान सकिनँ । परिवार चलाउन जन्मथलो छाड्नुपर्‍यो’, प्रविण भन्छन्, ‘राम्ररी व्यापार व्यवसाय गर्न नागरिकता चाहिन्छ । नागरिकता नभएपछि कसैले नपत्याउने रैछन् ।’

पैतृक सम्पति अंशवण्डा कागजात नागरिकता बन्ने आधार

साविक बटेश्वर गाउँपालिका–१ सोनापुरमा चलितर महतोको सवा ३ कट्ठा जग्गामा आफ्नै घर थियो । तर त्यो घर उनको नाममा थिएन, उनका काका असर्फी महतोको नाममा थियो ।

काका असर्फी र बुबा जुगेश्वर महतोको सन्तानबीचमा पैतृक सम्पतिमा अंशवण्डा हुँदा चलितरको नभएपछि उनकी श्रीमति रामकुमारीको नाममा आयो । प्रविण आफ्नो बुवाको नागरिकता नभएपनि अंशवण्डा भएर आमाको नाममा आएको त्यही पैतृक सम्पत्तीको प्रमाण नै आफूले नागरिकता पाउने ठोस आधार भएको बताउँदै आएका छन् ।

तर, त्यसलाई प्रशासन मान्न तयार नभएको प्रविणको गुनासो छ । रामकुमारीको नाममा रहेको त्यो जग्गा बेचेर उनले घुर्कौलीमा १० धुर आमाकै नाममा किनेका छन् ।

धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया प्रविणका कागजात देखेपछि मात्र केही भन्न सकिने बताए । यद्यपि, पैतृक सम्पतिको भागबण्डाको कागजात आधार हुन सक्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्