४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

किन खाइन्छ क्वाटी, के छ फाइदा ?

३ भाद्र, काठमाडौं । जनै पूर्णिमा अर्थात रक्षा बन्धन प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइन्छ ।  आजको दिन प्रत्येक दाजुभाइ दिदीबहिनीले दाजुुभाइलाई रक्षाबन्धन बाधेर यो पर्व मनाउने गर्छन् । जसले उनीहरूको सुरक्षाको प्रत्याभ्रति दिने विश्वास गरिन्छ । त्यस्तै, आजकै दिन विशेषगरी क्वाँटी खाने परम्परा छ ।

दुई दिन गेडागुडी भिजाएर जनै पूर्णिमाको दिन क्वाँटी बनाइन्छ । नेपालभाषामा क्वातीको शाब्दिक अर्थ ‘क्वाः’ भनेको तातो खानेकुरा ‘ती’ भनेको झोल हो । त्यहीभएर ‘क्वाती’ भनेको झोलिलो परिकार हो ।

परम्पराअनुसार ‘क्वाँटी’मा नौ थरीका गेंडागुडी मिसाइएको हुन्छ । मुगी, मास, भटमास, सानो केराउ, मस्याङ, चना, सिमी, बोडी र बकुल्लो । तर, अहिले यी बाहेक अन्य गेडागुडी पनि मिसाउने चलन छ । यी गेंडागुडी मिसाएर भिजाएपछि टुसा उम्रिन्छ जसलाई ‘क्वाँटी’ भनिन्छ । हरियो टुसा पलाएको गेंडागुडीलाई विभिन्न मरमसला राखेर बाक्लो झोल तरकारीका रुपमा पकाइन्छ यसरी क्वाँटी बनाएर खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ ।

विभिन्न थरी गेडागुडीको मिसाएर बनाइएको क्वाटीको रस खाएमा शरीरमा रोगप्रतिरोधी क्षमता वृद्धि हुने र पाचनक्रियासँग सम्बन्धित बिभिन्न रोग निको हुने जनविश्वाश रहिआएको छ । शक्ति र स्वाद दुवै मिल्ने भएकाले पनि क्वाँटीको विशेषता छ ।

क्वाँटी खानुका फाइदा 

क्वाँटी रेसादार खानाको स्रोत हो । यसमा ए, भिटामिन बी, भिटामिन सी, भिटामिन ई तथा खनिज पदार्थ प्रशस्त मात्रामा पाइन्छ । यसले शरीरको थकाइ कम गर्छ र तनावबाट मुक्त गराउँछ । स्मरणशक्ति बढाउँछ । कब्जियतको समस्यामा पनि यसले फाइदा गर्छ । त्यस्तै, मधुमेह तथा पायल्सका विरामीलाई यसको सेवन लाभदायिक हुन्छ । भिटामिन र खनिज प्रशस्त्र हुुनाले यसले रोग प्रतिरोधात्मक शक्ति बढाउँछ ।

टुसाएका गेडागुडीमा क्षारीय गुण बढी हुन्छ । त्यसैले, क्वाँटी खानाले ‘एसिडिटी’ तथा मूत्रनलीमा संक्रमणजस्ता समस्याबाट पनि छुट्कारा मिल्छ भने यसको नियमित सेवनले पाचनशक्तिमा सुधार आउँछ ।

प्रतिक्रिया दिनुहोस्