गोसाइँकुण्ड मेला सकियो, बस्न–खानलाई समस्या भएको गुनासो
४ भदौ, काठमाडौं । यही भदौ ३ गते जनैपूर्णिमाका दिन पवित्र तीर्थस्थल रसुवाको गोसाइँकुण्डमा बर्षेनी लाग्ने मेला सम्पन्न भएको छ ।
जनै पूर्णिमा पर्वका अवसरमा स्नान र पूजाआरधना गर्न निलाद्री पर्वत पुगेका सबै भक्तजन अहिले आ–आफ्नो गन्तव्यतर्फ फर्किएका छन् ।
हिमाली जिल्लाका साथै पश्चिम कैलालीदेखि नुवाकोट, काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, मकवानपुर , काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, नवलपरासी, अर्घाखाँची, कास्की, चितवन, महोत्तरीलगायत देशभरका भक्तजनहरु त्यहाँ पुगेका थिए ।
पूर्णिमाका दिन हिन्दूका साथै बुद्वमार्गीले पनि गोसाइँकुण्डमा स्नान र पूजाआरधना गर्ने गर्दछन् ।
जनैपूर्णिमाका अवसरमा गत वर्ष १६ हजार भक्तजन पुग्ने पनि यो वर्षभने आठ हजार मात्र तीर्थयात्री पुगेको अनुमान गरिएको छ । यद्यपी, गत वर्षदेखि यसको तथ्यांक नेपाली सेनाले संकलन गर्दै आएको छ ।
कोरोना भाइरस संक्रमण फैलिनुभन्दा पहिले २० हजार दर्शनार्थीलाई थेग्न त्यहाँका होटल व्यवसायीहरुले यो वर्ष भने हम्मे हम्मे परेको थियो ।
यात्रुको चाप बढेसँगै थोरै मात्र खोलिएका लजले थेग्न नसक्ने तथा बढी मूल्य लिएर खाना दिने गरेको तीर्थयात्री डिल्लीराम आचार्यले बताए ।
सुत्न र खानाकै समस्याका कारण वर्षेनी गोसाईकुण्ड दर्शन गर्ने यात्रीको संख्या घट्दै गइरहेको अर्का तीर्थयात्री क्षितिज मैनालीले बताए ।
उनले भने, ‘पर्वको अवसरमा घुम्ने र गोसाईकुण्डको दर्शन गर्ने भन्ने थियो । तर यहाँको खराब व्यवस्थानका कारणले गर्दा अप्ठेरो भयो । यो बेलामा घुम्न आउनु भनेर अरुलाई सुझाब दिन सक्ने अवस्था नै छैन । खाने व्यवस्था राम्रो छैन, सुत्ने ठाउँ छैन । शौचालयहरुको समेत व्यवस्था छैन ।’
गोसाइकुण्ड मेला व्यवस्थापन समितिभन्दा व्यवसायीहरुले बढी पैसा लिने गरेका कारण समेत यो समयमा तिर्थयात्रीहरुले हैरानी खेप्नुपरेको मैलानीको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्