४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

टिकटक प्रतिबन्ध हटाउन क्याबिनेटमा प्रस्ताव लैजाँदै सरकार

४ भदौ, काठमाडौ । लोकप्रियत सामाजिक सञ्जाल एप टिकटकमाथि १० महिनाअगाडि लागेको प्रतिबन्ध फुकुवा गर्ने सरकारले तयारी गरेको छ । टिकटकले नेपालको नीति नियम सबै पालना गर्ने प्रतिवद्धतासहित पत्राचार गरेपछि सरकार लचिलो बनेको हो । चार दिनअगाडि मात्रै इमेलमार्फत टिकटकको प्रतिवद्धता पत्र प्राप्त भएको मन्त्रालय स्रोतले नेपाल प्रेसलाई जानकारी दियो । टिकटकको एसियाका पोलिसी डिभिजन चिफ फेरसले पत्रमा हस्ताक्षर गरेका छन् ।

नेपाल सरकारको सबै ऐनकानून पालना गर्न हामी कमिटेड छौं भन्ने पत्र आएको छ,’ स्रोतले भन्यो । स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली टिकटकको प्रतिबन्ध फुकुवा गर्न सकारात्मक छन् । उनकै ग्रीन सिग्नल पाएर सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रतिबन्ध फुकुवाका लागि टिप्पणी उठाउन कर्मचारीलाई निर्देशन दिइसकेको स्रोतको भनाइ छ । नेपाल सरकारको ऐन-कानूनहरु पालना गर्ने शर्तमा टिकटक खुलाउन तयार रहेको जवाफी पत्र पनि मन्त्रालयले पठाएको छ ।

सरकारले २०८० साल कात्तिक २७ गते टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय मन्त्रिपरिषद्‌बाट गरेको थियो । सोही वर्ष मंसिरमा मन्त्रालयले सामाजिक सञ्जालसम्बन्धी कार्यविधि जारी गर्‍यो । उक्त कार्यविधिको दफा ३ मा सामाजिक सञ्जाल सूचीकरण गर्नुपर्ने सम्बन्धी व्यवस्था छ । यो दफाअनुसार सूचीकरण हुन तयार भएपछि टिकटक खोल्न लागिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्