अनसनकारीको समर्थनमा ऐक्यबद्धता
६ भदौ, जनकपुरधाम । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कार्यालय अगाडि धर्ना बसेको तीस घण्टापछि अनसनकारीको समर्थनमा विभिन्न संघ संस्था तथा पेसागत संगठनहरुले एक्यबद्धता जनाएका छन् । विभिन्न सामाजिक संस्था तथा नागरिक समाजका संगठनहरुले प्रेस विज्ञप्ती जारी गर्दै ऐक्यबद्धता जनाएका छन् ।
सिरहा जिल्ला अदालत बार एशोसिएसनका अध्यक्ष मनद कुमार साहको अगुवाई अधिवक्ताहरुको टोलीले जिल्ला प्रशासन कार्यालय सिरहामार्फत मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह समक्ष अनसनकारी प्रति ऐक्यबद्धता रहेको पत्र पठाएका छन् ।
पुल निर्माणमा ढिलाई गरिएको कारण हिजो बुधबार साँझ सिरहा सदरमुकाम सिरहामा प्रधानमन्त्री केपी शर्मा ओली र मुख्यमन्त्री सतिश कुमार सिंहको पुतला दहन गरिएको छ । प्रदर्शनमा ओर्लिएका आन्दोलनकारीहरुले अनसनकारीहरुको जीवनमा तलवितल भएमा आन्दोलनको आँधीबेहरी उठ्ने चेतावनी दिएका छन् । उनीहरुले सिरहाका सांसदहरुलाई सिरहा सदरमुकाम प्रवेश निषेध गर्ने घोषणा गरेका छन् ।
अनसनकारीको मागलाई अविलम्ब सम्बोधन गर्न माग गर्दै सनातन हिन्दु परिषद नेपालका अध्यक्ष मनिष कुमार यादव, समाजवादी ईन्जिनियरीङ्ग एसोसिएसन नेपाल (सीन) मधेश प्रदेशका अध्यक्ष ई रोशन कुमार यादव, मात्रृभूमि युवा समाज नेपालका उपाध्यक्ष डा. अविनाश पुर्वे, प्रदेश युवा सञ्जाल मधेश प्रदेशका नइम राईन लगायतले विज्ञप्ती जारी गरेका छन् ।
हुलाकी रामजमार्गमा पर्ने कमला नदीमा नयाँ पुल निर्माणको माग गर्दै पूर्वघोषित कार्यक्रम अनुसार हुलाकी राजमार्ग कमला पुल संघर्ष समिति सिरहा – धनुषाका संयोजक ई प्रवीण यादव, सिरहा नगरपालिका वडा नं.४ र ६ का वडाध्यक्षद्वय समसाद आलम, ईन्द्रजित यादव , औरही गाउँपालिका वडा नंं.३ र ४ का वडाध्यक्षद्वय जीवछ यादव, सुरेन्द्र यादव, सिरहा पुस्तकालयका कार्यवाहक अध्यक्ष भोगेन्द्र साह, सिरहा नगरपालिका वडा नं.८ का वडा सदस्य रुपेश यादव, सनातन हिन्दु परिषद्का मनिष कुमार यादव, समाजसेवी युवा शैलेश यादव र शिवशंकर यादव गत मंगलबारदेखि आमरन अनसनमा बसेका छन् ।
अनसनको समय लम्बिदै गएपछि अनसनकारीहरुको स्वास्थ्यमा समस्या देखिन थालेको छ । रक्तचापमा उतार चढाव देखिएपछि त्नि जना अनसनकारीहरुलाई स्लाइन पानी दिइएको छ । डा.कृष्ण कुमार यादव नेतृत्वको स्वास्थ्यकर्मीहरुले अनसनकारीहरुको स्वास्थ्य परीक्षण गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्