५ आश्विन २०८१, शनिबार
मुख्‍य समाचार समाचार

रामेछापको पहिरोमा ६ जनाको मृत्यु, ४ बेपत्ता

१० भाद्र, काठमाडौँ । शनिबार राति आएको पहिरोमा परी रामेछापको पश्चिमी क्षेत्रमा पर्ने दोरम्बा शैलुङ गाउँपालिका–३ स्थित लेखर्क गाउँका ६ जनाको मृत्यु भएको छ भने ४ बेपत्ता छन् । पहिरोले ६ घर बगाएको छ ।

मृत्यु हुनेमा ३२ वर्षीया चण्डिका थापामगर र उनका डेढ वर्षीय छोरा आमुस, ४० वर्षीया उर्मिला पहरी, उनका छोराहरू १८ वर्षीय विज्ञान, १७ वर्षीय सन्दीप र १४ वर्षका सन्तोष रहेको प्रहरीले जनाएको छ ।

बेपत्ता हुनेमा ७५ वर्षीय फड्के पहरी, ५५ वर्षीय काले पहरी, ५४ वर्षीया झ्याँउकिरी पहरी र २३ वर्षीय विन्दा पहरी छन् । चण्डिकाको घरमा बस्दै आएकी छिमेकी १० वर्षीया अन्जना पहरीको उद्धार गरिएको छ । उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । आइतबार बिहानैदेखि सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले बेपत्ताहरूको खोजी गरे पनि फेला पर्न सकेका छैनन् । पहिरोमा परी एक सयभन्दा बढी चौयापा र पशुपन्छी मरेको पालिकाले जनाएको छ ।

पहिरोका कारण लेखर्क गाउँ नै विस्थापित भएको छ । गाउँका ६५ परिवारका १ सय ८० जनाभन्दा बढीलाई गाउँपालिका नजिकैको कण्ठेश्वर मावि र पालिकाको खाली कोठामा व्यवस्थापन गरेको गाउँपालिका अध्यक्ष मैनकुमार मोक्तानले बताए । पहिरोले गाउँ पुग्ने सबै सडक सञ्जाल क्षतिग्रस्त बनाएको छ । वडा–२ र ३ जोड्ने ढाइगाउँको मोटरेबल पुल पहिरोसँगै आएको बाढीले बगाएको छ । बाढीले छाङ खोला र घट्टे खोलाको पुल पनि बगाएको छ ।

रामेछापको पहिरोमा ६ जनाको मृत्यु, ४ बेपत्ता

प्रतिक्रिया दिनुहोस्