५ आश्विन २०८१, शनिबार
मुख्‍य समाचार समाचार

राष्ट्रपतिद्वारा गौरा पर्व र श्रीकृष्ण जन्माष्टमीको शुभकामना

१० भाद्र, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गौरा पर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक आस्था र आपसी सद्भावलाई प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्नुभएको छ ।

गौरा पर्वको अवसरमा शुभकामना दिँदै उहाँले हरेक वर्ष भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीका दिनसम्म नेपालको सुदूरपश्चिम क्षेत्रमा विशेषरुपमा मनाइने यस पर्वले विविधतामा एकता, सामाजिक एवं सांस्कृतिक ऐक्यवद्धता र सहिष्णुता अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ पार्न सहयोग पुर्‍याउँदै आएको बताउनुभएको छ ।

यस पर्वमा शिव र पार्वतीको पूजा अर्चना गरी व्रत बस्ने गरिन्छ । जसको फलस्वरूप शिव र पार्वती तथा ईष्ट र कुल देवता प्रशन्न भई सुख शान्ति प्राप्त हुने जनविश्वास रहेको छ । साथै, पाँच प्रकारका अन्नबाट बनेको ‘बिरुँडा’ अर्पण गरी प्रसादको रुपमा ग्रहण गरेर यो पर्व मनाउने गरिन्छ ।

यस पर्वको अवसरमा स्थानीय गोलबद्ध भई लोक भाषामा देउडा, धमारी र चैत आदिका माध्यमबाट एक अर्काका दुःख, सुख बाड्ने गर्दछन् । साथै, यस पर्वले बिछोडिएका जोडीको मिलन हुने, आपसी भाइचाराको सम्बन्धमा वृद्धि हुने र पति-पत्नीबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास रहेकोले यसलाई धुमधामपूर्वक मनाउने प्रचलन रहिआएको छ ।

राष्ट्रपति पौडेलले यस साँस्कृतिक चाड गौरा पर्वले नेपाली मौलिक संस्कृतिको संरक्षणमा थप योगदान गर्दै सम्पूर्ण नेपालीमा आपसी समझदारी, दिगो शान्ति एवं भाइचाराको भावना अभिवृद्धि गर्न प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ ।

यसैगरी राष्ट्रपति पौडेलले श्रीकृष्ण जन्माष्टमी पर्वको शुभकामना दिनुहुँदै समाजलाई भावनात्मक एकताको सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा आपसी सद्भाव कायम र सत्कर्मका लागि प्रेरित गर्न सहयोग पुर्‍याउने उल्लेख गर्नुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्