५ आश्विन २०८१, शनिबार
मुख्‍य समाचार समाचार

आज गौरा पर्वको मुख्य दिन

१० भाद्र,  काठमाडौँ । आज गौरा पर्वको महत्वपूर्ण दिन अष्ठमी अर्थात अठे वाली धुमधामका साथ मनाइँदै छ । आजको महिलाहरुले बिहानै खोला तलाउमा स्नान गरी घाँसबाट निर्मित गौरादेवीको प्रतिमा र काठको महेश्वरको प्रतिमालाई गौरा घरबाट बाहिर आगनमा ल्याई शङ्गार गरी सगुन गीत गाउँदै टाउकोमा राखेर महिला नाच्ने गर्दछन् ।

गौराको पहिलो दिन पाँच अन्न भिजाएर बनाएको बिरुडा गौरादेवीको पूजाआजा गर्न प्रयोग हुन्छ । अठेवालीका दिन बिरुडालाई घरमा लगेर पकाएर खाने पनि गरिन्छ । पहिले गाउँका प्रतिष्ठित व्यक्तिका घरमा सामूहिक रुपमा बिरुडा भिजाउने चलन थियो । अहिले सुविधाका लागि गौरा मन्दिर, सगोल तथा घर–घरमा भिजाउने गरिन्छ ।

हिमालयकी छोरी पार्वतीले भगवान शिवलाई पति पाउन गौरादेवीको निराहार व्रत बसेको किंबदन्तीका आधारमा गौरा मनाउने गरिएको हो । पार्वतीले शिव पति पाएझैं अविवाहित युवती शिवझैं पति पाउन भनी व्रत बसेको अठेवालीका दिन गौरादेवीको प्रतिमा टाउकोमा राखेर नचाउने गर्छन् भने पुरुषले धुमारी, ढुस्को, ठाडो खेल र देउडा खेल्ने गर्छन् । धुमारी र ढुस्को ठाडो खेलमा महाभारत, रामायणसहित धार्मिक ग्रन्थमा आधारित कथा भन्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्