९ मंसिर २०८१, आईतवार
मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

नसा च्यापिएका बिरामीले के-कस्ता सावधानी अपनाउने ?

१० भदौ, काठमाडौँ । नसा च्यापिने धेरैले भोगिरहेको समस्या हो । यो रोग लागेका व्यक्तिले धेरै कुरामा सावधानी अपनाउनुपर्ने हुन्छ । जीवनशैली परिमार्जन नै यो रोगको मुख्य उपचार भएकाले रोगको व्यवस्थापन र रोकथाम महत्त्वपूर्ण छन् । नियमित व्यायाम, वजन सन्तुलन, राम्रो शरीर–विन्यासको अभ्यास, ढाड, कम्मर र गर्दनमा तनाव हुने गतिविधि निरुत्साहित गर्नाले धेरै हदसम्म नसा च्यापिने समस्याबाट बच्न सकिन्छ ।

यसका लागि निम्न लिखित सावधानी अपनाउनुपर्ने हुन्छ ।

भारी वस्तु नउठाउनुहोस्

नसा च्यापिने बिरामीहरुको ढाड अत्यन्त नाजुक हुने गर्छ । भारी वस्तु उठाउँदा मेरुदण्डमा तनाव बढ्छ । यसर्थ ढाडमा थप तनाव रोक्न भारी वस्तु उठाउनबाट बच्नुपर्छ । उठाउनुपर्ने नै भएमा उचित लिफ्टिङ प्रविधिको प्रयोग गरेर मात्र उठाउनुपर्छ । अगाडि झुकेर सामान उठाउनुपर्दा कम्मरबाट नझुक्नुहोस् । निहुरिएर गर्नुपर्ने कुनै पनि काम गर्नुपर्दा घुँडा खुम्च्याएर कम्मरलाई नमोडी बिस्तारै उठाउनुहोस् । हलुका सामान नै उठाउनुपर्ने भएमा सिधै अगाडि नझुकी घुँडालाई खुम्च्याएर ढाड सिधै राखेर अगाडि झुक्नुपर्छ ।

अगाडि नझुक्नुहोस्

नसा च्यापिएका व्यक्तिले अगाडि झुक्ने वा ढाडलाई अगाडि मोड्ने काम गर्नु हुँदैन ।

मेरुदण्डमैत्री शरीर–विन्यासको अभ्यास गर्नुहोस्

स्पाइनल डिस्कहरूमा तनाव कम गर्न बस्दा, उभिंदा र हिंड्दा उचित मेरुदण्डमैत्री शरीर–विन्यासको अभ्यास गर्नुपर्छ ।

एउटै शरीर–विन्यासमा लामो समयसम्म नबस्नुहोस्

एउटै शरीर–विन्यासमा लामो समयसम्म उभिरहने वा बसिरहने नगर्नुहोला । गर्नैपर्ने भएमा बीच-बीचमा अवस्था परिवर्तन गरिरहनुपर्छ । उभिएर गर्नुपर्ने काम गर्दा एउटा खुट्टालाई अर्को खुट्टाभन्दा ६ इन्च जतिमाथि कुनै वस्तुको आड लिएर राखौं ।

मेरुदण्डमैत्री कुर्सी

मेरुदण्डमैत्री कुर्सीको प्रयोग गर्नुपर्छ । बस्दा ढाडको तल्लो भागलाई सपोर्ट गर्न कुशन वा लम्बर रोलको प्रयोग गर्न सकिन्छ ।

ओछ्यानको छनोट

गद्दा, फोम, डल्लब जस्ता बाक्ला र मुलायम ओछ्यानमा नसुतौं । स्प्रिङ भएको लचकदार झोलुङ्गे ओछ्यान बढी आरामदायक लागे पनि ढाडका लागि राम्रो होइन । साह्रै कडा ओछ्यानले पनि ढाडलाई राम्रो गर्दैन । सामन्यतया एक इन्च जति बाक्लो कपासको बिछ्यौनामा सुत्नु ढाडका लागि राम्रो हुन्छ ।

सुत्दा सिधा सुत्ने बानी बसालौं । घोप्टो वा कोल्टेभन्दा उत्तानो सुत्नु नै ढाडका लागि राम्रो हो । नसा च्यापिइसकेपछि भने खुट्टा खुम्च्याएर सजिलो हुनेगरी गोडामुनि तकिया राखेर सुतौं । सिरानी काँधको लम्बाई बराबर अग्लो भए ढाडको लागि राम्रो मानिन्छ । घुँडाको बीचमा सिरानी राखेर सुत्नु फाइदाजनक हुनसक्छ ।

तनाव कम गर्न अपरिहार्य

मानसिक तनावका कारण पनि ढाडका मांसपेशीहरु कडा हुने, हड्डी र डिस्क खिइने हुँदा तनाव कम गर्न अपरिहार्य छ ।

स्वस्थ तौल कायम राख्नुहोस्

नसा च्यापिएका व्यक्तिले स्वस्थ तौल कायम राख्नुपर्ने हुन्छ । स्वस्थ तौलले तपाईंको मेरुदण्डमा दबाब कम गर्छ, जसले डिस्कको समस्या कम गर्न मद्दत गर्छ ।

पेट घटाउनैपर्छ

पेट लागेकाहरुले घटाउनैपर्छ । पेटले मेरुदण्डमा अतिरिक्त दबाब दिन्छ ।

ढाडलाई झड्का नदिनुहोस्

दौडिने वा उफ्रिने जस्ता मेरुदण्डलाई उच्च प्रभाव पर्ने वा झड्का दिने गतिविधिहरूबाट टाढा रहनुहोस् ।

हाई आर्च जुत्ताको प्रयोग गर्नुहोस्

शरीरको तौलको वितरण सुनिश्चित गर्न र मेरुदण्डमा तनाव कम गर्न उचित आर्च भएका जुत्ता लगाउनुपर्छ ।

पर्याप्त पानी पिउनुहोस्

पानी पर्याप्त नभए स्पाइनल डिस्कको लचकता र स्वस्थता कायम रहन सक्दैन । पानीले थप चोटपटकको जोखिम कम गर्छ ।

पेटीको प्रयोग गर्नुहोस्

यो रोग भएकाहरुले मेरुदण्ड वा गर्दनमा लगाउने बेल्टको प्रयोग गर्नुपर्ने हुन्छ । यस्ता बेल्टले प्रभावित क्षेत्रमा तनाव कम गर्न र गतिविधिहरूमा अतिरिक्त सपोर्ट प्रदान गर्न मद्दत गर्छ । साथै दुखाइ व्यवस्थापन गर्न र रिकभरीमा मद्दत गर्छ ।

ड्राइभिङमा सावधानी

नसा च्यापिने रोग सक्रिय रहेको अवस्थामा ड्राइभिङ नगरौं । ड्राइभिङ गर्दा सिटलाई अलि अगाडि नै सारेर बस्ने गरौं । ड्राइभिङ सिटमा वा कुर्सीमा बस्दा ब्याक रेस्टको प्रयोग गर्ने गरौं ।

कम्मर वा गर्दन दुख्ने समस्या भएकाहरूले साइकल, मोटरसाइकल वा स्कुटर जस्ता दुईपाङ्ग्रे साधन नचलाऔं । हिंड्दा ढाडको कम्मर पेटी वा घाँटीको कलर लगाऔं ।

उकाली ओराली हिंड्दा सजकता आवश्यक

उकाली ओराली गर्दा वा सिंढी चढ्दा सावधानीपूर्वक बिस्तारै हिंडौं ।

खोक्दा वा हाच्छ्यूँ गर्दा पनि खुस्किन सक्छ ढाड

खोक्दा वा हाच्छ्यूँ ढाडमा जोड पर्ने हुँदा दुखाइ बढ्न सक्छ । खोक्नु वा हाच्छ्यूँ गर्नुपरे भित्ता वा टेबुलको सहायता लिऔं ।

कसरी हिंड्ने ?

हिंड्दा बूढो मान्छे जस्तो कुप्रेर होइन ठाडो शिर गरेर सोझो भएर हिंडौं ।

चिकित्सकको सल्लाहअनुसार चल्नुहोस्

चिकित्सकको  सल्लाहअनुसार निर्धारित चिकित्सा कर्म, थेरापी र औषधिहरू लिनुहोस् ।  चिकित्सकले बोलाएको बेलाका फलोअप अपोइन्टमेन्टमा उपस्थित हुनुहोस् । तपाईंको स्वास्थ्य सेवा प्रदायक चिकित्सकसँग नियमित रूपमा आफ्नो अवस्थालाई प्रभावकारी रूपमा निगरानी र व्यवस्थापन गर्न परामर्श गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्