५ आश्विन २०८१, शनिबार
समाचार समाज

राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणालीमा सुधार गर्नुपर्छ : गगन थापा

१० भदौ, काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने बताएका छन् ।

नीति फाउण्डेसनले सोमबार राजधानीमा आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले निर्वाचन प्रणालीमा सुधार नल्याएसम्म राजनीतिक अस्थिरता नरोकिने बताए ।

‘निर्वाचन प्रणाली नबदलिएसम्म राजनीतिक स्थिरता हुने देखिन्न । एक्लैको बहुमत नहुने भएपछि सानो दललाई दौडिएर प्रधानमन्त्री दिनुपर्ने बाध्यता रहिरहन्छ’, महामन्त्री थापाले भने । वर्तमान निर्वाचन प्रणालीकै कारण अहिले माओवादी केन्द्रलाई काँग्रेसले सानो दल भन्न समेत सक्ने अवस्था नरहेको उनले तर्क गरे ।

‘एमालेले माओवादीलाई सानो शक्ति भन्न पाउँछ । तर काँग्रेसले माओवादीलाई सानो दल भन्न पाउँदैन’, थापाले भने, ‘जत्रो शक्ति भएपनि आलोपालो प्रधानमन्त्री हुने भनेपछि हामीले सानो भन्न पाउँदैनौँ ।’

कुनै दलले एक्लै बहुमत ल्याउन नसक्ने हुँदा चुनावअघि गरिने गठबन्धनले दलभित्र र मुलुककै लोकतन्त्र संकटमा परेको महामन्त्री थापाले बताए । ‘प्रिअलायन्स गर्दा घोषणापत्र बनाउनै परेन, गठबन्धनले जिताउने भयो । मन नपरेकालाई रोक्न पनि गठबन्धनले सजिलो हुने भयो’, उनले भने ।

निर्वाचन प्रणाली सच्याउनुपर्ने कारणबारे यस्तो पृष्ठभूमि राखेपछि महामन्त्री थापा संविधान संशोधनको विषयमा प्रवेश गरेका थिए । नेकपा एमालेसँग राजनीतिक स्थिरता सुनिश्चित गर्ने प्रयोजनकै सिलसिलामा संविधान संशोधनको सहमति भएको थापाले बताए ।

तर संविधान संशोधन गर्दा तीन विषयलाई सुनिश्चित गरिने उनले बताएका छन् ।

पहिलो, थप समावेशी संसद् । अहिले संविधान संशोधनको प्रसंगमा समावेशी संसदबारे चिन्ता गरिएकाले यसबारे सुनिश्चितता गरिनुपर्ने उनले बताए । ‘हामी अहिलेको भन्दा थप समावेशी संसद बनाउँछौँ । यो कुरा भन्नुपर्छ’, थापाले भने ।

दोस्रो सुनिश्चितता संसदहरुको योग्यतामा गरिनुपर्ने उनले बताए । ‘हामी निर्वाचन प्रणालीबारे संशोधन गरिरहँदा अहिलेका क्वालिटीका एमपी ल्याउनेछौँ, त्यो सुनिश्चिता गरिनुपर्छ’, थापाले भने ।

तेस्रो सुनिश्चितता भने संसदको आकार घटाउने हो । महामन्त्री थापाले अहिलेको भन्दा सानो आकारको संसद्, मन्त्रालय र मन्त्री रहने गरी कानुन परिवर्तन गरिनुपर्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्