५ आश्विन २०८१, शनिबार
राजनीति समाचार

ओलीलाई होइन, ‘प्रचण्ड’लाई संसदले स्पष्टीकरण सोध्छ : योगेश भट्टराई

१२ भाद्र,  काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री होइन, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई स्पष्टीकरण सोध्नुपर्ने बताएका छन् ।

प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा विशेष समय लिएर बोलेका भट्टराईले डेडिकेटेड र ट्रङ्क लाइनको विवादमा एक रुपैयाँ पनि छुट दिन हुन्न भन्नेमा आफूहरू प्रष्ट रहेको बताए ।

बरु माओवादी अध्यक्ष ‘प्रचण्ड’ नेतृत्वको सरकारले १६ अर्ब मिनाहा गर्ने आशयले निर्णय गरेको भन्दै उनले भने, ‘हिजो विपक्षी दलको नेताले प्रधानमन्त्री केपी ओलीजीलाई स्पष्टीकरण सोध्छु भन्नुभयो । म तत्कालीन प्रधानमन्त्रीलाई भन्न चाहन्छु, तपाईँ कुन कानुनका आधारमा कुन अधिकार प्रयोग गरेर नेपाल विद्युत् प्राधिकरणको विद्युत् बक्यौता छुट दिने निर्णय गर्नुभयो ? यो प्रतिनिधिसभाले तपाईँलाई स्पष्टीकरण सोध्छ ?’

महालेखा परीक्षकले गरेको निष्कर्षमा कुनै टिप्पणी गर्नुपरे लेखा समितिले मात्र गर्ने उनले बताए । तर ‘प्रचण्ड’ले नभएको अधिकार प्रयोग गरेको भन्दै उनले भने, ‘उहाँले अख्तियारको दुरुपयोग गर्नुभयो । यो देशमा अख्तियार छ भने पुष्पकमल दाहालजीलाई सोध्नुपर्छ कि तपाईँले यो अख्तियारको दुरुपयोग किन गर्नुभयो ?’

भट्टराईले बोल्ने क्रममा नेकपा एमाले र माओवादी केन्द्रका सांसदबीच नोकझोक भएको थियो ।

प्रतिक्रिया दिनुहोस्