एकनारायण अर्यालः उत्कृष्ट सिडिओदेखि मुख्य सचिवसम्म
१३ भदौ , काठमाडौं । निजामती प्रशासनको २८ औं मुख्य सचिवमा एकनारायण अर्याल नियुक्त भएका छन् । १५ भदौदेखि लागु हुने गरी सरकारले उनलाई नियुक्त गरेको हो।
अर्याल निजामती प्रशासनमा नायब सुब्बा पदबाट सेवा सुरु गरेका हुन् । ४ माघ २०४६ मा उनी नासुबाट सरकारी सेवामा प्रवेश गरेका थिए । २०५१ मा अधिकृत, २०५८ मा उपसचिव, २०६७ मा सहसचिव तथा २०७६ मा उनी सचिवमा बढुवा भएका हुन् ।
हाल गृहसचिवका रुपमा कार्यरत उनले विभिन्न जिम्मेवारीमा रहँदा सुधारको काम गरेका थिए । मकवानपुर जिल्लाको प्रमुख जिल्ला अधिकारी हुँदा उत्कृष्ट सिडिओका रुपमा उनको नागरिक अभिनन्दन भएको थियो । २०७२ को भूकम्पमा गोरखामा सिडिओका रुपमा कार्यरत रहँदा उत्कृष्ट व्यवस्थापन गरेवापत उत्कृष्ट निजामती सेवा पुरस्कार प्राप्त गरेका थिए ।
कोलकत्ताका महावाणिज्यदूत हुँदा इलेक्ट्रिोनिक कार्गाे ट्रयाकिङ सिष्टमको सुरुवात गरेका थिए ।
सचिवमा बढुवा भएर काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा राजश्वमा अनलाइन राजश्व संकलन प्रणालीको सुरुवात गरेका थिए ।
पछि संघीय मामिला, श्रम मन्त्रालय हुँदै प्रधानमन्त्री कार्यालयमा काम गर्दा पनि उनले सुधार गरेका थिए । गत चैतमा गृहसचिव बनेका उनले गृह प्रशासनमा व्यापक सुधार गरेको कर्मचारी बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्