५ आश्विन २०८१, शनिबार
राजनीति समाचार

विदेशी शक्तिहरूले अराजक गतिविधि बढाए, जनताको साथ लिनुको विकल्प छैन : ओली

काठमाडौँ । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले र आफ्नो नेतृत्वको सरकारविरुद्ध अन्तर्राष्ट्रिय शक्तिहरू खासगरी भारत र अमेरिकाले चलखेल र घेराबन्दी गर्दै गतिविधि बढाएकाले सर्तक हुनुपर्ने बताएका छन् ।

बिहीबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गर्दै उनले नेपालमा पनि उनीहरूले विभिन्न माध्यममार्फत अराजकता बढाउने किसिमका गतिविधि गर्न सक्ने भन्दै सचेत रहनुपर्ने बताएका हुन् ।

‘संसारभर नै उनीहरू ९अमेरिका र भारत०को बोलवाला छ । नेपालमा पनि चलखेल गर्ने र अराजकता मच्चाउने प्रयास भइरहेको छ’, ओलीको भनाइ उधृत गर्दै एक पदाधिकारीले भने, ‘उनीहरूको तरिका पहिला नेतृत्वलाई खुइल्याउने अनि पार्टी र आन्दोलनमाथि आक्रमण नै गर्ने हो । त्यसअन्तर्गत नेपालमा वितण्डा मच्चाउने पक्षमा छन् ।’

ओलीले सोही कारण नेपालमा अराजकता बढेको निष्कर्ष सुनाउँदै जनतामा भर परेर जनपरिचालन गर्नुको विकल्प नभएको पनि सुनाएका छन् । काँग्रेससहित झण्डै दुई तिहाइ सांसदको समर्थनमा शक्तिशाली प्रधानमन्त्री बनेका ओलीले कुनै सूचना पाएर नै सचिवालय बैठकमा यस्तो विश्लेषण गरेको ती पदाधिकारीको भनाइ छ । बैठकमा माओवादीप्रति खासै टिप्पणी नगरेका ओलीले देश भित्रका शक्ति भन्दा पनि बाहिरी शक्ति चुनौतीका रूपमा रहेकाले जनतालाई साथ लिएर सोही अनुसार अघि बढ्न पार्टीले रणनीति तय गर्नुपर्नेमा जोड दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्