५ आश्विन २०८१, शनिबार
समाचार समाज

सरकारका प्रवक्ताद्वारा प्रहरी महानिरीक्षकको आलोचना

१५ भाद्र, काठमाडौं  सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रहरी महानिरीक्षकप्रति अमर्यादित टिप्पणी गरेका छन् । प्रहरी समयोजनमा अवरोध गरेर देशको कानून नमानेको भन्दै महानिरीक्षकको जिब्रो थुत्नुपर्ने बताएका हुन् ।

प्रेस चौतारी नेपाल गण्डकी प्रदेश समितिले शनिबार पोखरामा गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री गुरुङले यस्तो अमर्यादित अभिव्यक्ति दिएका हुन् । संघीयताको मर्मअनुसार प्रहरी समायोजनसँगै निजामती कर्मचारी ऐन आउन नसकेको चर्चा गर्ने क्रममा मन्त्रीबाटै विवादास्पद अभिव्यक्ति दिएका हुन् ।

‘निजामती र संघीय प्रहरी ऐन आउने, फर्किने धेरैपटक भइरहेको छ। तर, अब लन्च गर्ने तयारी छ, त्यसको धेरै अवरोध गर्ने त्यही सेक्टरको मान्छेबाट भइरहेको छ। प्रहरीको आइपिजीले के भन्यो, म यो कानुन लागू नै गर्दिनँ, हुँ गर्छ। त्यस्तो बोल्न पाउने कि नपाउने? त्यस्को जिब्रो थुत्नुपर्थ्यो मैले भन्दाखेरी,’ उनले भने,‘सरकारको नीतिको, व्यवस्थाको विरुद्धमा एउटा सस्थाको प्रमुखले बोल्न पाउँदैन नि ! उहाँले ल्याउँदै ल्याउँदिन प्रहरी ऐन भन्ने टाइपको बोलेको रे भन्ने सुनेको मैले ।’

गण्डकी प्रदेशका मुख्यमन्त्री रहँदा गुरुङ संघीय सरकारको चर्काे आलोचक थिए । अहिले आफैं संघीय सरकारको महत्वपूर्ण मन्त्री छन् । संघीयता कार्यान्वायन गर्ने जिम्मेवारीमा छ । तर, सरकारका प्रवक्ता समेत रहेका उनले पदीय मर्यादाको समेत ख्याल नगरी प्रहरी महानिरीक्षकमाथि सार्वजनिक रुपमा अमर्यादित टिप्पणी गरेपछि विवादमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्