५ आश्विन २०८१, शनिबार
राजनीति समाचार

आफ्नै उत्पादनमा आधारित किनबेच हुनसके अर्थतन्त्र बलियो हुन्छ : शंकर पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको आफ्नै उत्पादनमा आधारित किनबेच हुनसके अर्थतन्त्र बलियो बन्ने बताएका छन् । आइतबार काठमाडौँमा नेपाल बुद्धिजीवी परिषद् केन्द्रीय महिला विभागद्वारा आयोजित सामाजिक रूपान्तरणका लागि तिज समसामयिक विमर्श कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

महासचिव पोखरेलले सबै चिज बाहिरबाट ल्याउने र त्यसमा पैसा खर्च गर्ने प्रवृत्तिले अर्थतन्त्र बलियो नबनाउने बताए । उनले अहिले कमाइको मुख्य श्रोत नै श्रम किनबेच रहेको बताए । उनले श्रम बेचेर कमाई गर्ने र सामान किनेर खर्च गर्ने कुरा स्वाधीनता र सार्वभौम सत्ताका लागि अनुकूल ढाँचा नभएको बताए । उनले यसले देशलाई कमजोर र खोक्रो बनाइरहेको बताए ।

महासचिव पोखरेलले देशभित्रै उत्पादन प्रयोग गर्ने संस्कृति निर्माण गर्नुपर्ने बताए । चाडपर्वहरूले अर्थतन्त्रलाई चलायमान बनाउन पूजा कोठामा प्रयोग गर्ने सामानहरू स्वदेशमै उत्पादित हुनुपर्ने उनले बताए । उनले देशभित्रको उत्पादनलाई प्रयोग नगरी बाहिरबाट सामान आयात गर्ने कुरा संस्कृति विपरीतको कार्य भएको बताए । भगवानलाई पनि आफूले उत्पादन गरेको कुराहरू नै चढाउने र भोग लगाउने बानी बसाउनु आवश्यक रहेको उनले बताए ।

उनले भने, ‘ नेपालको आफ्नै उत्पादन आधारित किनबेच हुन्छ भने त्यसले अर्थतन्त्र बलियो बनाउँछ । तर आज हामी के गरिरहेका छौँ, सबै चिज बाहिरबाट ल्याउने र त्यसमा पैसा खर्च गर्ने । कमाइको मुख्य श्रोत बनेको छ मान्छे बाहिर पठाएर श्रम बेचेर कमाइ गर्ने, सामान किनेर खर्च गर्ने । भन्दाखेरि हाम्रो समाजको जुन प्रकारको ढाँचामा गइरहेका छौँ, यो ढाँचा हाम्रो स्वाधीनता र सार्वभौम सत्ताका लागि अनुकूल ढाँचा हो की होइन भन्दा, होइन । यसले हाम्रो देशलाई कमजोर बनाइरहेको छ । खोक्रो बनाइरहेको छ ।’

महासचिव पोखरेलले सही विचार सम्प्रेषण गर्नसके समाज रूपान्तरण हुने बताए ।

प्रतिक्रिया दिनुहोस्