५ आश्विन २०८१, शनिबार
राजनीति समाचार

सुदूरपश्चिमबाटै हेपिए प्रचण्ड, माओवादी ससंदिय दलको विवाद जटिल बन्दै

१७ भाद्र, धनगढी । सुदूरपश्चिममा नेकपा माओवादी केन्द्र संसदीय दलभित्रको विवाद जटिल मोडमा पुगेको छ । माओवादी केन्द्रको भदौ १२ र १३ गते धनगढीमा बसेको केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूको परामर्श बैठकमा सुदूरपश्चिम संसदीय दलभित्रको विवादले प्रमुख स्थान पायो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि संसदीय दलको नेतामा खगराज भट्टलाई तोक्ने गरी निर्देशन दिइएको एकथरी नेताको बुझाइ थियो । तर अर्कोथरी नेताहरूले पार्टी अध्यक्ष प्रचण्डले दलको नेता परिवर्तनबारे कुनै निर्देशन नदिएको जिकिर गरेका छन् ।

परामर्श बैठकमा माओवादीका सांसद शिवसिंह ओली लगायतले यसअघिको केन्द्रको निर्देशन पनि प्रदेशमा कार्यान्वयन नभएको भन्दै टिप्पणी गरेका थिए । सुदूरपश्चिम संसदीय दलका नेता मानबहादुर धामीले आफू प्रक्रिया पूरा गरेर दलको नेता बनेको बताएका थिए । गत असार १२ गते अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङले सुदूरपश्चिम प्रदेशको संसदीय दलको नेता खगराज भट्टलाई बनाउनु भन्दै लिखित निर्देशन दिएका थिए । तर सो निर्देशन पालना नभएपछि हालैको बैठकमा पनि सो विषयले प्राथमिकता पायो । खगराज भट्टलाई गत माघ २२ गते बहुमतको आधारमा संसदीय दलको नेताबाट हटाउँदै मानबहादुर धामीलाई दलको नेता बनाउने निर्णय गरियो ।

भट्टले आफूमाथि अन्याय भएको भन्दै कडा आपत्ति जनाएका थिए । त्यो बेला सभामुख बाहेकका १० सांसदमध्ये भट्टको पक्षमा ४ जना सांसद थिए भने धामीको पक्षमा ६ सांसद थिए ।

प्रतिक्रिया दिनुहोस्