५ आश्विन २०८१, शनिबार
समाचार समाज

डेंगुका बिरामी ६ हजार नाघे, उपत्यकामा ६ सय ८० सङ्क्रमण

१७ भाद्र, काठमाडौँ । देशभरि डेंगुका बिरामीको सङ्ख्या ६ हजारभन्दा बढी पुगेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेंगु रोगको सङ्क्रमण हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा डेंगु रोगको सङ्क्रमण देखिएको छ ।

महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहाल अनुसार ६ हजार तीन सय ४७ जनामा डेंगी रोगको सङ्क्रमण देखिएको छ । यस्तै तीन जना डेंगु रोगको सङ्क्रमणको कारणले निधन भइसकेको छ ।

पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुल लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएपछि मानिसलाई टोक्यो भने डेंगु लाग्दछ ।

गण्डकी प्रदेशमा सबभन्दा बढी
डेंगु सबभन्दा बढी गण्डकी प्रदेशमा देखिएको छ । महाशाखाका अनुसार गण्डकी प्रदेशमा दुई हजार नौ सय ५४ देखिएको छ । कोशी प्रदेशमा सात सय ९१ जना, मधेसमा सय जना, बागमतीमा एक हजार छ सय २३ जना, लुम्बिनी चार सय ४४ जना, कर्णालीमा ९३ जना र सुदूरपश्चिम प्रदेशमा तीन सय ४२ जना सङ्क्रमण देखिएको छन् ।

उपत्यकामा ६ सय ८०
काठमाडौँ उपत्यकामा छ सय ८० जनामा डेंगु सङ्क्रमण देखिएको छ ।  जिल्लामा पाँच सय ११, भक्तपुर ६९ र ललितपुर सय जनामा डेंगु सङ्क्रमण देखिएको छ ।  वर्षाका बेला पानीका संकलन गरेर राख्ने र संकलन गरिएको पानीमा लामखुट्टे रहने र त्यही लामखुट्टेले टोक्ने भएकाले डेंगु सङ्क्रमण बढेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगी रोगको सङ्क्रमण बढेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाइ गर्नुको साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ । सरकारी अस्पतालमा डेंगु रोगका बिरामीका उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ ।

हैजा ७५ जनामा
यस्तै महाशाखाका अनुसार हैजाका बिरामी ७५ जना पुगेका छन् ।  महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा।दाहालका अनुसार ललितपुरमा ५० काठमाडौँमा १० जना, कैलालीमा आठ जना, प्युठान दुई, मकवानपुर एक र रोल्पामा चार जनामा हैजा पुष्टि भएको छ ।

हैजा अति सङ्क्रामक र शीघ्र फैलिने झाडापखाला भएकाले हैजाको मुख्य लक्षण चौलानी पानी जस्तो दिशा आउने वाकवाकी लाग्ने र वान्ता हुने, कडा जलवियोजन हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्