५ आश्विन २०८१, शनिबार
मुख्‍य समाचार राजनीति समाचार

८४ को निर्वाचन एक्लै लड्छौँ : प्रधानमन्त्री ओली

१९ भाद्र, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले ०८४ को निर्वाचनमा एक्लै लड्ने बताएका छन् ।  पोलिट्ब्युरो बैठकमा मंगलबार ओलीले आगामी निर्वाचनमा गठबन्धन नहुने बताएका हुन् ।

ओलीले स्थानीय तहको उपनिर्वाचनमा पनि एमाले एक्लै लड्ने बताएका छन् । आगामी मंसिरमा स्थानीय तहका रिक्त पदमा उपनिर्वाचन गर्ने सरकारको तयारी छ ।

कांग्रेस केन्द्रीय समिति बैठकले पनि आगामी निर्वाचनमा गठबन्धन नगर्ने निर्णय गरेको छ । सहमतिअनुसार नै प्रधानमन्त्री पद कांग्रेसलाई हस्तान्तरण गर्ने ओलीले दोहोर्‍याए । केही दिनयता उनले आफ्नो कार्यकाल सकिनु एक हप्ताअघि नै राजीनामा दिने बताउँदै आएका छन् । कांग्रेसलाई विश्वासमा लिएर जान सो कुरा भनिरहेको एमाले नेताहरू नै बताउँछन् ।

आजको पोलिट्ब्युरो बैठकमा महासचिव शंकर पोखरेलले पार्टीको वार्षिक कार्ययोजना प्रस्तुत गरेका छन् । बुधबार  बस्ने बैठकमा पोलिट्ब्युरो सदस्यहरूलाई बोल्नका लागि तीन मिनेटको समय दिइनेछ । त्यसपछि वार्षिक कार्ययोजनाबारे निर्णय हुने र समसामयिक प्रस्ताव पारित गर्ने तयारी एमालेको छ ।

प्रतिक्रिया दिनुहोस्