५ आश्विन २०८१, शनिबार
समाचार समाज

७ असोजदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन हुने

२० भदौ, काठमाडौँ । सरकारले चाडपर्व लक्षित सहुलियत पसल असोज पहिलो सातादेखि सञ्चालन गर्ने भएको छ । ७ असोजदेखि छुट सहित सहुलियत पसल सञ्चालन गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ ।

सरकारले बजेटमा सहुलियत पसलका लागि ३ करोड बजेट विनियोजन गरेको छ । चाडपर्वमा बजार मूल्यलाई नियन्त्रण गर्न र सन्दर्भ मूल्य निर्धारण गर्न भन्दै सरकरले सहुलियतपूर्ण पसल सञ्चालन गर्दै आएको छ ।

चाडपर्वको समयमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन र दुग्ध विकास संस्थान मार्फत सहुलियत पसल सञ्चालन हुँदै आएको छ । कम्पनीका अनुसार सहुलियत पसल सञ्चालनमा आएपछि सबैथरी चामलको मूल्य प्रतिकेजी ५ रुपैयाँ छुट हुनेछ ।

कर्णालीको रैथाने बालीहरूमा प्रतिकेजी ७ रुपैयाँ, तेलमा प्रतिलिटर ७ रुपैयाँ र घिउ पनि प्रतिकेजी ७ रुपैयाँ छुटमा बिक्री हुने कम्पनीले जनाएको छ । खसी, बोका र च्याङ्ग्राको बिक्री मूल्य भने खरिदपछि मात्रै निर्धारण हुने कम्पनीले जनाएको छ । प्रतिकेजी १० रुपैयाँ छुट सहित खसी, बोका र च्याङ्ग्रा उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

कम्पनीको अनुसार च्याङ्ग्रा करिब ३०० र खसी–बोका १ हजार ५०० वटा ल्याउने तयारी छ । बजारमा माग धेरै हुने अवस्था देखिएमा भने संख्या केही बढ्न सकिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्