लामाचौर कप राष्ट्रिय भलिबलको उपाधि पुलिस क्लबलाई
२२ भाद्र, कास्की । पोखरामा सम्पन्न लामाचौर कप राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ ।
लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी माविको खेल मैदानमा आज सम्पन्न रोमाञ्चक फाइनल खेलमा अर्को विभागीय टोली एपिएफलाई ३-२ को सेटमा हराउँदै पुलिसले उपाधि चुमेको हो । पुलिस क्लब गत वर्षको उपविजेता हो । नव आदर्श सामुदायिक विकास समाजले आफ्नो वार्षिकोत्सव तथा हरितालिका तीजको अवसरमा प्रतियोगिता आयोजना गरेको थियो ।
यसअघि शुक्रबार हुने फाइनल खेल खराब प्रकाश (लाइट प्रोस्टेट)का कारण १-१ सेटको बराबरीमा रोकिएपछि आज खेलाइएको थियो । पुलिसले पहिलो सेट २५-१६को सहज जित निकाले पनि दोस्रो सेटमा २१-२५ को हार व्यहोरेको थियो । तेस्रो सेटमा पुनः खेलमा फर्कँदै पुलिसले २५-१९ को जित हासिल गर्यो तर चौथो सेटमा एपिएफ खेलमा फर्कँदै २५-२२ को जित निकालेपछि खेल २-२ सेटको बराबरीमा पुगेको थियो ।
अन्तिम सेटसमेत निकै रोमाञ्चक बन्यो । दुवै टिमले निकै सङ्घर्ष गरे पनि अन्ततः नतिजा भने पुलिसको पक्षमा रह्यो । पुलिसले अन्तिम सेटमा १६–१४ को जित निकाल्दै उपाधि चुमेको हो । उपाधिसँगै पुलिसले नगद रू. एक लाख ५० हजार हात पारेको छ । उपविजेता एफिएफले रू. एक लाख एक सय ११ प्राप्त गर्यो ।
प्रतियोगितामा नेपाल पुलिस क्लबका सञ्जुविक्रम शाह सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए। सोही क्लबका बलराम गुरुङ उत्कृष्ट सेटर, भिम गाहा उत्कृष्ट डिफेन्डर र सफल विक उत्कृष्ट ब्लकर घोषित भए । यस्तै, एपिएफका हेमन्त मल्ल उत्कृष्ट सर्भर, विजय थापा उत्कृष्ट स्पाइकर र पुलिस क्लबका चन्द्र कुँवर उत्कृष्ट प्रशिक्षक घोषित भएका थिए । उनीहरू सबैलाई समान रू. पाँच-पाँच हजार, ट्रफी र मेडल पुरस्कार प्रदान गरियो ।
प्रतियोगिताको महिलातर्फको उपाधि भने एपिएफले उचालेको थियो । शुक्रबार सम्पन्न फाइनल खेलमा न्यु डायमन्डलाई ३-१ को सेटमा हराउँदै उपाधि चुमेको हो । पहिलो सेट २५-२३ ले हराएको एपिएफले दोस्रो सेटमा पनि २५-२३ कै जित हासिल गर्यौ तर तेस्रो सेटमा १३-२५ को हार बेहोरेको एपिएफले चौथो सेटमा २५-० ले हराउँदै उपाधि चुमेको हो ।
प्रतियोगिताको महिला-पुरुष दुवैतर्फ चार-चार टिमको सहभागिता रहेको थियो । प्रतियोगिता यही भदौ १९ गतेदेखि सञ्चालन भएको थियो ।
प्रतिक्रिया दिनुहोस्