४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार राजनीति समाचार

सुदूरपश्चिमको विकासका लागि लागिपर्ने छु : परराष्ट्रमन्त्री देउवा

२६ भाद्र, काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सुदूरपश्चिम क्षेत्रको विकासका लागि आफू सधैं लागिपर्ने बताएकी छन् । सुदूरपश्चिमाञ्चल सरोकार मञ्च, नेपालका पदाधिकारी एवं सदस्य सम्मिलित प्रतिनिधिमण्डलसँग कुराकानी गर्दै उनले आफू विगत लामो समयदेखि सो क्षेत्रका नागरिकको स्वास्थ्य, महिला अधिकार, प्रजनन स्वास्थ्य तथा सुरक्षित मातृत्वलगायतका क्षेत्रमा काम गर्दै आएको बताइन ।

उनले यस क्षेत्रको विकास गरी त्यहाँका नागरिकको जीवनस्तरमा सुधार ल्याउने गरी काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन् । पछिल्लो समयमा नेपालमा आत्महत्या गर्ने व्यक्तिको सङ्ख्या बढ्दै गएको देखिएको र आत्महत्याको दर अन्यत्रको तुलनामा सुदूरपश्चिममा धेरै रहेको तथ्य बाहिर आएकाले यस अवस्थाको निराकरणका लागि काम गर्न पनि सो मञ्चलाई आग्रह गरिन् ।

‘अहिले आत्महत्या गर्नेमा १५ प्रतिशत जति २० वर्ष मुनिका युवायुवती रहेको तथ्य बाहिर आएको छ । यो निकै गम्भीर अवस्था हो । सुदूरपश्चिमको अवस्था झन् खराब देखिन्छ । अब हरेक पालिका तथा वडास्तरमै परामर्श केन्द्र राखेर हुन्छ या कसरी हुन्छ, मानसिक स्वास्थ्यका क्षेत्रमा काम गर्नुपर्नेछ । यो उमेर समूहका नागरिकलाई व्यापक मात्रामा परामर्श सेवा दिनुपर्नेछ । यहाँहरु पनि त्यसमा लाग्नुहोला ।’ मन्त्री डा. राणाले भनिन ।

उनले सुदूरपश्चिम क्षेत्रको विकासका पक्षमा त्यहाँका केही स्थानीय परियोजना तथा नाकाका विषयमा भारत भ्रमणका क्रममा भारतीय उच्च सरकारी तहसम्म कुरा उठाएकोमा सो प्रतिनिधिमण्डलले विशेष धन्यवाद ज्ञापन गरिन् ।

प्रतिक्रिया दिनुहोस्