३ आश्विन २०८१, बिहीबार
कोशी पर्यटन प्रदेस समाचार मुख्‍य समाचार

सिद्धकाली मन्दिर ओझेलमा

३० भदौ, किमाथाङ्का (सङ्खुवासभा) । चैनपुर नगरपालिका–३ स्थित सिद्धकाली मन्दिर प्रचार–प्रसार नहुँदा ओझेलमा परेको छ । त्यहाँ पूजाअर्चना गर्नाले आफूले चाहेको पूरा हुने विश्वासका साथ भक्तजन त्यहाँ पुग्ने गरेका छन् ।

धार्मिक र पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण हुँदाहुँदै पनि उचित व्यवस्थापन र प्रचारप्रसार अभावमा यो मन्दिर अहिले ओझेलमा छ । चिताएको मनोकामना पूरा हुने विश्वासका साथ जिल्ला तथा जिल्ला बाहिरका विभिन्न स्थानबाट यो मन्दिरको दर्शन गर्न भक्तजन आउने गरेका छन् । यसको व्यापक रूपमा प्रचारप्रसार गर्न सकेको खण्डमा धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने पुजारी ओमबहादुर पुरीले बताए ।

चैनपुर बजार नजिकै रहेको ऐतिहासिक तथा धार्मिक महत्त्वपूर्ण सिद्धकाली मन्दिर चर्चित र पवित्र स्थान हो । यस मन्दिरले धार्मिक, ऐतिहासिक, प्रसिद्ध तथा सांस्कृतिक महत्व बोकेको छ । बालाचतुर्दशी र रामनवमीमा गरी वर्षमा दुईपटक ठूलो मेला लाग्ने गरेको छ । भक्तजन आफ्ना कूलपितृको सम्झनामा सतबिज छर्नका लागि समेत यहाँ पुग्ने गरेका छन् । मन्दिरको नजिकै परेवा उडाउने तथा बलि पूजा गर्ने ठाउँ छ । सिद्धकाली मन्दिरको दर्शन गरे मनले सोचेका इच्छा–आकाङ्क्षा पूरा हुने विश्वास रहेको पुजारी पुरीले बताए ।

सतिदेवीको दाहिने आँखा पतन भएको सिद्धकाली मन्दिर दर्शन गर्न नेपालका विभिन्न स्थान र भारतबाट पनि दर्शनार्थी आउने गरेका छन् । नेपालकै चर्चित प्रसिद्ध धार्मिक क्षेत्र भए पनि यहाँको महत्वलाई बुझाउन नसक्दा ओझेलमा परेको पुजारी बताउँछन् । यो स्थानलाई धार्मिक पर्यटनका रूपमा विकास गर्न सरकारले भूमिका खेल्नुपर्ने स्थानीयको भनाइ छ ।

चैनपुरमा व्यापारको सम्भावना देखेर काठमाडौँ, भक्तपुर, ललितपुर, धुलिखेल, बनेपा, साँगा, नाला आदि स्थानबाट समेत व्यापार–व्यवसायका सिलसिलामा नेवार समुदाय यहाँ चैनपुर बसोबास गरेको थियो । चैनपुर नगरपालिका ‘चन्द्रपुर’ भन्ने धार्मिक ऐतिहासिक नामबाट अपभ्रंश हुँदै चैनपुर रहन गएको पुजारी रत्ननाथ महन्तले बताए । चैनपुरका शिल्पकारले बनाएका धातुको करुवा चैनपुरको अर्को महत्त्वपूर्ण पहिचान हो ।

प्रतिक्रिया दिनुहोस्