३ आश्विन २०८१, बिहीबार
अर्थ मुख्‍य समाचार समाचार समाज

२ महिनामा झन्डै १२ प्रतिशत उठ्यो राजस्व, खर्च कति ?

१ असोज, काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिना (साउन–भदौ) मा सरकारले लक्ष्यको झन्डै १२ प्रतिशत राजस्व उठाएको छ ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार भदौसम्म १ खर्ब ६६ अर्ब ३८ करोड रुपैयाँ बराबर राजस्व उठेको छ । यो लक्ष्यको ११.७२ प्रतिशत हो ।

सरकारले यसवर्ष १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ । भदौसम्म संकलित राजस्वमध्ये कर राजस्व १ खर्ब ४५ अर्ब १९ करोड रुपैयाँ उठेको छ । यो लक्ष्यको ११.३१ प्रतिशत हो । यस अवधिमा २१ अर्ब १९ करोड गैरकर राजस्व उठेको छ । यो लक्ष्यको १५.६९ प्रतिशत हो । यस अवधिमा अनुदान र अन्य आम्दानी हुन नसकेको महालेखाको विवरणमा देखिन्छ ।

खर्चतर्फ सरकारले दुई महिनामा १ खर्ब ३७ अर्ब ५५ करोड रुपैयाँ भुक्तानी गरेको देखिन्छ । यो कुल बजेटको ७.३९ प्रतिशत हो । यस वर्ष सरकारले १८ खर्ब ६० अर्ब रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ । यसमध्ये दुई महिना (भदौ) सम्म चालु खर्च ८२ अर्ब ९८ करोड रुपैयाँ भएको छ । यस वर्ष ११ खर्ब ४० अर्ब रुपैयाँ चालु प्रकृतिको खर्च गर्ने लक्ष्य रहेको छ । भदौसम्म पूँजीगत खर्च १४ अर्ब ८९ करोड रुपैयाँ भएको छ ।

यो लक्ष्यको ४.२३ प्रतिशत हो ।यस वर्ष सरकारले ३ खर्ब ५२ अर्ब रुपैयाँ पूँजीगत खर्च गर्ने लक्ष्य राखेको छ । वित्रीय व्यवस्थामा भदौसम्म ३९८ अर्ब ६७ करोड रुपैयाँ खर्च भइसकेको छ । यो लक्ष्यको १०.८ प्रतिशत खर्च हो । यस वर्ष वित्तीय व्यवस्थामा ३ खर्ब ६७ अर्ब रुपैयाँ खर्च हुने लक्ष्य रहेको छ । यस वर्ष पूँजीगत खर्च र वित्तीय व्यवस्था गत वर्षको यसै अवधिको तुलनामा धेरै खर्च भएको छ । यसो हुनुमा यसवर्ष सरकारले सुरुवाती महिनाबाटै निर्माण व्यवसायीको भुक्तानी बढाएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्