३ असोज, काठमाडौँ । पढाईलाई उमेरले छेक्दैन भन्ने उदाहरण बन्नुभएको छ नविन भट्ट । उमेरले उहाँ ५० वर्ष नाघिसक्नुभएको छ । हेर्दा लाग्छ, उहाँ नानीबाबुलाई सिकाउने शिक्षक हुनुहुन्छ । तर उहाँ शिक्षक नभई आफूभन्दा निकै साना उमेरका विद्यार्थीहरुसँगै बसेर नौ कक्षामा पढ्नुहुन्छ ।

गोरखा नगरपालिका–६ पाटेचौर स्थित शक्ति माविमा ५१ वर्षीय भट्ट कक्षा ९ मा भर्ना भएर पढिरहनुभएको छ । यसै शैक्षिक सत्रमा भर्ना हुनुभएका भट्टको पढाईप्रति देखाएको लगावबाट शिक्षक समेत दङ्ग छन् ।

भिमसेन थापा गाउपालिका–२ तान्द्राङका भट्ट दुइ बर्षपछि एसईई दिएर अबको १२ वर्षमा एमबिबिएस पढ्ने लक्ष्यका साथ विद्यालयमा भर्ना हुनुभएको हो । कक्षा ११ र १२ साइन्स पढेर त्यसपछि एमविविएस पढ्ने उहाँको लक्ष्य छ ।

घरयासी समस्याले पढाईलाई निरन्तरता दिन नपाएको उहाँले बताउनुभयो । २०५३ सालमा एसएलसी फेल भएपछि पढाई छाड्नुभएका भट्ट २९ वर्षपछि फेरि विद्यालयमा पढ्न सुरु गर्नुभएको हो । शुरुका दिनमा छोराछोरी उमेरका सहपाठी सँग पढ्न धक लागेपनि अहिले सहज वनेको उहाँले बताउनुभयो ।

विद्यालय समयको अलवा पनि नविनले पढाईमा लगाव बढाउनु भएको छ । उहाँले नजानेका कुरा शिक्षकलाई सोध्न गाह्रो मान्नुहुन्न । भर्ना भएको शुरुका दिनमा लेखाई ढिलो भएपनि अहिले लय समातेको उहाँ बताउँनुहुन्छ ।

कक्षा नौ मा भर्ना हुनुभएका भट्टको पढाई राम्रो रहेको विद्यालयका प्रध्यानाध्यापक वद्री अर्याल बताउनुहुन्छ । भट्टलाई बस्नका लागि विद्यालयले होस्टेलको एउटा कोठा उपलब्ध गराएको छ ।