४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार राजनीति समाचार समाज

स्वास्थ्यमन्त्री थापाद्वारा कृत्रिम खुट्टा र ह्विलचेयर वितरण

४ असोज, भक्तपुर । संविधान दिवसको अवसरमा वागमती प्रदेशसभाका स्वास्थ्यमन्त्री किरण थापाले अपाङ्गता भएका व्यक्तिलाई कृतिम खुट्टा र ह्विलचेयर वितरण गर्नुभएको छ ।
बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय, सामाजिक विकास मन्त्रालय, मारवाडी सेवा समिति र पशुपति गौशाला धर्मशालाद्वारा संयुक्त रुपमा यहाँ आयोजित ह्वीलचियर वितरण कार्यक्रममा मन्त्री थापाले निःशुल्क कृत्रिम खुट्टा एवं ह्विलचेयर वितरण गर्नुभएको हो ।
उहाँले नौवटा कृत्रिम खुट्टा र छ जनालाई ह्विलचेयर वितरण गर्नुभएको हो । कार्यक्रममा मन्त्री थापाले खुट्टा नभएकै कारण धेरै कष्ट भोग्नुपरेकाका लागि संविधान दिवसको अवसर परेर यस्ता सामग्री वितरण गरिएको बताउनुभयो ।
मन्त्री थापाले भन्नुभयो, “सहयोग सानै भए पनि प्रयोग गर्नेका लागि ठूलो र जीवन जिउन सहज हुन्छ । कृत्रिम खुट्टा वितरणले उहाँहरुको जीवन सहज हुने विश्वास लिएको छु, सामाजिक कार्य र स्वास्थ्यको विकासमा वागमती प्रदेश सरकार निरन्तर लागिरहन्छ ।”
मारवाडी सेवा समिति र धर्मशालालगायत सङ्घ संस्थाको सहयोगमा निःशुल्क शव वाहन सञ्चालन गर्ने र विभिन्न अस्पतालमा प्रति छाक रु ४० मा खाना खुवाउने तयारी भइरहेको उहाँले बताउनुभयो । अस्पतालमा बिरामीलाई शुद्ध पिउने पानीका लागि प्रदेश अस्पतालमा रु चार लाख बराबरको ‘वाटर प्युरिफायर’ राख्ने तयारी भएको मन्त्री थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्