४ आश्विन २०८१, शुक्रबार
खेलकुद मुख्‍य समाचार विशेष समाचार समाचार समाज

भारतविरुद्ध बंगलादेश टेस्ट : रोहित र विराट असफल, एकै दिनमा १७ विकेटको पतन

४ असोज, काठमाडौं । भारतका दुई प्रमुख ब्याटर रोहित शर्मा र विराट कोहली बंगलादेशविरुद्ध पहिलो टेस्ट खेलमा रन बनाउन असफल बनेका छन् ।

दोस्रो दिनको खेल सकिँदा घरेलु टोली भारत दोस्रो इनिङमा ८१–३ को अवस्थामा छ । पहिलो इनिङमै २२७ रनले अघि भएको भारतले समग्रमा ३०८ रनको अग्रता लिएकोछ ।

पहिलो इनिङमा ६ रनमा आउट भएका कप्तान रोहित शर्माको ब्याट दोस्रो इनिङमा पनि चलेन । उनलाई दोस्रो इनिङमा तीव्र गतिका बलर तस्किन अहमदले थर्ड स्लिपमा आउट साइड एज लगाउदै जकिर हसनबाट ५ रनमा क्याच गराए ।

विराट कोहली पहिलो इनिङमा ६ रनमा आउट भएका थिए । दोस्रो इनिङमा कोहलीलाई स्पिनर मेहेदी हसन मिराजले १७ रनमा एलबीडब्लू आउट गरे । भारतका शुभमन गिल ३३ र ऋषभ पन्त १२ रनमा नटआउट छन् । ओपनर यशस्वी जैसवाल १० रनमा आउट हुन पुगे ।

बंगलादेश पहिलो इनिङमा आज नै १४९ रनमा अल आउट भयो । बंगलादेशका सकिब अल हसनले ३२, मेहेदी हसन मिराजले २७, नाज्मुल हसन सान्टोले २० र लिटन दासले २२ बनाए । भारतका जस्प्रित बुमराहले ४, मोहम्मद शिराज, आकाश दीप र रविन्द्र जडेजाले २–२ विकेट लिए ।

चेन्नईमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारत ३७६ रनमा अल आउट भएको थियो । रविन्द्रन आश्विन १३३ बलमा ११ चौका र २ छक्कासहित ११३ रनमा आउट भए । रविन्द्र जडेजा १२४ बलमा १० चौका र २ छक्कासहित ८६ रनमा आउट भए ।

एक समय १४४–६ को अवस्थामा पुगेको भारतलाई आश्विन र जडेजाले सातौं विकेटका लागि २४० बलमा १९९ रनको साझेदारी गरेका थिए । दोस्रो दिन सुरुवात मै जडेजा तस्किनको बलमा विकेटकिपर लिटन दासबाट क्याच भएपछि शतक बनाउन चुकेका थिए । बंगलादेशका हसन महमुदले ५ र तस्किन अहमदले ३ विकेट लिए ।

भारतले दोस्रो दिन आज पहिलो इनिङ ८० ओभरमा ३३९–६ को अवस्थाबाट सुरुवात गरेको थियो । भारतको आज पहिलो इनिङमा ४ र दोस्रोमा ३ विकेट गुमेकोछ । बंगलादेशले भने पहिलो इनिङमा अल आउट हुँदै १० विकेट गुमायो । त्यसैले आज भारतको ७ र बंगलादेशको १० गरी एक दिनमा मात्रै १७ विकेट गुम्न पुग्यो ।

प्रतिक्रिया दिनुहोस्