४ आश्विन २०८१, शुक्रबार
विशेष समाचार समाचार समाज

चाडपर्वको समय अस्वस्थ गतिविधि नियन्त्रण गर्न केन्द्रीय अनुगमन समितिको निर्देशन

४ असोज, काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार सम्पन्न केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिको बैठकले चाडपर्वको समयमा हुन सक्ने कृत्रिम अभाव, कालोबजारी र मिसावट जस्ता अस्वस्थ गतिविधिहरूलाई नियन्त्रण गर्न कडा निर्देशन दिएको छ। मुख्यसचिव एकनारायण अर्यालको संयोजकत्वमा बसेको बैठकले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र प्रमुख जिल्ला अधिकारीहरूलाई स्थानीय स्तरमा अनुगमन र समन्वय गर्न भनेको हो।

मुख्यसचिव अर्यालले चाडपर्वको समयमा बजारमा कृत्रिम अभाव, कालोबजारी र मिसावट रोक्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कडा निगरानी राख्नुपर्ने र यो कार्यमा प्रमुख जिल्ला अधिकारीहरूसँग मिलेर अनुगमन गर्नुपर्नेमा जोड दिए । साथै, सार्वजनिक सवारी साधनको भाडादर र सडक दुर्घटना न्यूनीकरण गर्न यातायात व्यवस्था विभाग र सडक विभागबीच समन्वयात्मक रूपमा कार्य गर्नुपर्ने निर्देशन समेत दिए । उनले संयुक्त बजार अनुगमनका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई समन्वयात्मक भूमिका निर्वाह गर्न अनुरोध गरे ।

बैठकमा केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिको ६९औँ बैठकमा भएका निर्णयहरूको कार्यान्वयनको समीक्षा गर्दै डेङ्गी लगायतका मौसमजन्य रोगहरूको नियन्त्रण तथा प्रतिकार्य, चाडपर्वमा वस्तु तथा सेवाको सहज आपूर्ति र व्यवस्थापन, सुरक्षा र यातायात, अखाद्य वस्तुको प्रयोग एवम् बिक्री वितरण, र कालोबजारी नियन्त्रणका विषयमा विस्तृत छलफल भएको थियो। छलफलका क्रममा सचिवहरू, सुरक्षा निकायका प्रमुखहरू र विभागीय प्रमुखहरूले आ(आफ्ना कार्य प्रगति र भावी योजना प्रस्तुत गरेका थिए ।

बैठकले चाडपर्वको समयमा उपभोक्ताहरूलाई सहज, सुरक्षित र गुणस्तरीय वस्तु तथा सेवा उपलब्ध गराउन सबै सरोकारवाला निकायहरूलाई प्रभावकारी रूपमा क्रियाशील रहन आह्वान गरेको छ।

प्रतिक्रिया दिनुहोस्