५ आश्विन २०८१, शनिबार
मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

जिबी, रवि र छवि कारबाहीका भागीदार

५ असाेज,  काठमाडौँ । विभिन्न सहकारी संस्थाबाट कानुनविपरीत गोर्खा मिडिया नेटवर्क प्रालिमा जम्मा भएको ६५ करोड ५४ लाख रकममध्ये २२ करोड ४६ लाख रुपियाँ सहकारीबाट सिधै कम्पनीको खातामा जम्मा भएको पाइएको छ । प्रचलित कानुनले निषेध गरेको उक्त कार्य कम्पनीका सञ्चालकको प्रभावमा भएको संसदीय समितिको निष्कर्ष छ ।

सहकारी संस्थाको बचत रकम दुरुपयोगसम्बन्धी विशेष छानबिन समितिको प्रतिवेदनमा गोर्खा मिडियामा आएको रकममध्ये झन्डै २४ करोड रुपियाँको खर्च रवि लामिछानेको एकल हस्ताक्षरबाट भएको उल्लेख छ । सहकारी संस्थाको रकम व्यक्तिमा ल्याउन नमिल्ने कानुनी व्यवस्था रहेकाले प्रवाह ऋणको कुनै प्रक्रिया पूरा भएको छैन । संसदीय समितिमा पूर्वमन्त्रीसमेत रहनुभएका लामिछानेले पनि बयानका क्रममा बहुसङ्ख्यक प्रश्नमा रकम ल्याउन आफ्नो संलग्नता नभएको जिकिर गर्नुभएको छ ।

कानुनी रूपमा निषेधित कारोबार भएकाले उक्त प्रक्रियामा अन्य सञ्चालकसमेत संलग्न छैनन् । गोर्खा मिडियाको लेखा परीक्षणमा समेत सहकारीबाट रकम आएको विषय लुकाइएको छ । लेखा परीक्षण प्रतिवेदनमा पनि उक्त रकमलाई ऋण नभई सापटीका रूपमा उल्लेख गरिएको छ ।

गोर्खा मिडियाको खातामा विभिन्न सहकारी र व्यक्तिबाट ६५ करोड ५४ लाख चार हजार ५३८ रुपियाँ रकम जम्मा भएको देखिएको छ । जसमध्ये ४३ करोड सात लाख ७४ हजार ५३८ रुपियाँ विभिन्न व्यक्तिका नामबाट जम्मा भएको छ । २२ करोड ४६ लाख ३० हजार सहकारीबाट सिधा जम्मा भएको छ । सूर्यदर्शन, सुप्रिम, सानो पाइला, स्वर्णलक्ष्मी, समानता, सहारा सहकारीबाट उक्त रकम जम्मा भएको हो । समितिको प्रतिवेदन अनुसार गोर्खा मिडियाको सेयर पुँजीको १२ करोड रुपियाँ नै सहकारीको रकमको हो ।

सञ्चालकले पदको दुरुपयोग गरेर कानुनविपरीत ऋण लिई अपलचन गरेको पुष्टि भएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा भनिएको छ, “कुनै पनि सहकारी संस्थाले प्राकृतिक व्यक्तिबाहेकलाई ऋण प्रदान गर्नु हुँदैन र लगानीसमेत गर्नु हुँदैन तर सञ्चालकहरूको सहकारी संस्थामा आफ्नो शक्तिको गलत उपयोग गरी अत्यधिक रूपमा ऋण लिई कम्पनीलाई ऋण प्रदान गरी सहकारी संस्थाहरूको रकम अपचलन गरेको पुष्टि हुन्छ ।”

प्रतिक्रिया दिनुहोस्