५ आश्विन २०८१, शनिबार
मुख्‍य समाचार राजनीति समाचार समाज

रवि लामिछाने अदालतको कठघरामा उभिनेछन् : भीमसेनदास प्रधान

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले रवि लामिछाने सहकारी ठगी प्रकरणमा दोषी देखिएकाले कारबाही हुनुपर्ने बताएका छन् । उनले रवि लामिछानेलाई फ्रडको संज्ञा दिए ।

शनिबार काठमाडौंमा आयोजना गरिएको विशेष साक्षात्कार कार्यक्रममा बोल्दै पूर्वमन्त्री प्रधानले लामिछानेको आचरणपनि खत्तम रहेको टिप्पणी गरे । उनले भने,‘रवि लामिछाने सबभन्दा फ्रड मान्छे । लाजशरम केही पनि छैन । नागरिकता नै दोहोरो छ । राहदानी नै दोहोरो, आचरण नै खत्तम छ । महिलाप्रति आचरण नै खराब छ । अहिले हेर्नुहोस त क्लिन–चिट भनेर कत्रो स्वर ? चितवनका जनतालाई अब हामीले सोध्नुपर्छ कस्तो मान्छे जिताएको भनेर ?

सहकारी ठगीसम्बन्धी समितिको प्रतिवेदन आएपछि सबैकुरा घामजस्तै छर्लङ् भएको भन्दै अब रविका पक्षधरले वकालत गर्न जरूरी नभएको उनको भनाई छ ।

उनले भने,‘अहिले बास्तवमा सहकारी ठगी प्रकरणले समग्र मुलुक तातिएको छ । सडक आन्दोलन हुँदै सदनमा पनि कांग्रेसले हिजो माओवादी र एमालेको सरकार हुँदा कुरा उठायो । विशेषगरि गगन थापाले सहकारी ठगी प्रकरणमा यो कुरा उठाउनुभयो । अनिमात्रै छानबिन समिति बन्यो । सहकारी समिति गठन नहुँदै सूर्य थापाले बचाउ गर्नुभयो । त्यतिवेला मलाई रवि लामिछानेको केश फासफुस होला भन्ने लागेको थियो । एमाले र माओवादीको सरकार थियो। त्यो सरकारले डिफेन्स गर्ला भनेको थिएँ । सूर्य थापा त त्यतिवेला रवि लामिछानेको वकालत गर्ने मान्छे । ठीक ढंगले रिपोर्ट आउँदैन भन्ने थियो । पार्लियामेन्टमा रवि लामिछानेको पक्षमा उसले ठगी र भ्रष्टाचार गरेको छैन भनेर एमालेका सांसदहरुले नै धेरै बोलेका थिए । पछि कांग्रेस र एमालेको सरकार बन्यो । अहिले प्रतिवेदन आईसकेको छ, अब घामजस्तै छर्लङ भइसकेको छ । रिपोर्टको चार नम्बर बुँदामा समितिले रवि लामिछानेलाई कारबाहीको सिफारिश गरेको छ ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रण गर्छु भनेको स्मरण गराउँदै अब लामिछानेमाथि कारबाहीको प्रक्रिया थाल्नुपर्ने बताए ।

उनले भने,‘रवि लामिछानेमाथि कारबाहीको प्रोसेस सुरु भइसक्यो । जहाँसम्म लाग्छ, उसलाई अदालतको कठघरामा उभ्याउनैपर्छ । अदालतले गर्ने हो–फैसला । आँफैले क्लिनचिट भन्ने होइन । हाम्रै पार्टीका साथीहरु पनि अदालतकै कारण जेल गएका छन् । अख्तियारको विल हामीले ल्याएका हौं। गृहमन्त्री खुमबहादुर खड्काको पालामा अख्तियार गठन भयो। पहिले जेल खुमबहादुर खड्का नै गए । त्यही हो डेमोक्रेसीको व्युटी भनेको ।’

उनले भ्रष्टाचारसम्बन्धी पाँच वर्षे हदम्याद खराब नियतले आएको भएपनि जनदबाबको कारण हटाईएको स्पष्ट पारे । उनले भने,‘त्यो पाँच वर्षे हदम्याद खराब नियतका साथ आएको थियो । तर, जनदबाब, खासगरी मिडिया र मानवअधिकारको दबाबको कारण हटाएको हो । बाध्य भएर केपी ओलीले हटाएको हो ।’

पार्टी उपसभापति धनराज गुरुङमाथि पनि सहकारी ठगी प्रकरणमा अनुसन्धान सुरू भएकोले तत्काल पार्टी र संसद्को जिम्मेवारीबाट राजीनामा दिनुपर्ने उनको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्