६ आश्विन २०८१, आईतवार
मुख्‍य समाचार राजनीति

जलवायु परिवर्तनमा नेपालको कुनै दोष र भूमिका छैन : मन्त्री ठकुरी

६ असोज, काठमाडौं । वन तथा वातावरणमन्त्री ऐन बहादुर शाही ठकुरीले जलवायु परिवर्तनमा नेपालको कुनै दोष र भूमिका नभएपनि यसको असर भोगिरहेको बताएका छन् ।

आइतबार सिंहदरबारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारी विषयक छलफलमा सहभागी हुँदै मन्त्री शाहीले कोप–२९मा नेपालको सहभागितालाई अझै प्रभावकारी र उपलब्धिमुलक बनाउन सरकारले आवश्यक छलफल गरिरहेको बताएका हुन् ।

उनले भने, ‘हामी जलवायु परिवर्तनको असरबाट निकै प्रभावित भएका छौं । जलवायु परिवर्तन हुने क्रियाकलपामा केही दोष र तापक्रम बढाउने काममा नेपालको भूमिका छैन । तर, पनि यसको असर भोग्नुपरेको छ । विगतका सम्मेलनहरु (कोप–२७ र २८) मा हाम्रो देशबाट नेतृत्व गर्नुहुने प्रधानमन्त्रीज्यू लगायतको टिमले धेरै विषयमा विश्वलाई सचेत गराएको छ । कोप–२९लाई अझै प्रभावकारी र उपलब्धिमुलक बनाउनका लागि हामीले योसँग सम्बन्धित विषेशज्ञ र निकायहरु र सम्बद्ध अन्तरराष्ट्रिय साझेदारहरुसँग व्यापक छलफल र तयारी गरिरहेको छ ।’

गत वर्ष संयुक्त अरब इमिरेट्समा सम्पन्न कोप–२८को मा भएका कमी कमजोरीहरुलाई नदोहोर्याउने गरि आवश्यक तयारी भइरहेको उनको भनाइ छ ।

कोप–२९मा सहभागी हुनपूर्व नेपालमा राष्ट्रिय सम्मेलन गर्ने र प्राविधिक पक्ष, राजनीतिक नेतृत्व, संघीय संसद्का दुवै सदन अन्य निकायहरुसँग समेत छलफल गरेर सहभागिता जनाउने उनले उल्लेख गरे ।

उनले भने, ‘समितिबाट आएका सुझावहरुलाई लिएर विगतका गल्तीहरु नदोहोरिने गरी तयारी गर्ने विश्वास समेत दिलाउन चाहन्छु । त्योसँग सम्बन्धित प्राविधिक पक्ष, राजनीतिक नेतृत्व, संघीय संसद्का दुवै सदन अन्य निकायहरुसँग समेत छलफल गरेर अगाडि बढ्न पहल गर्नेछ । वन तथा वातावरण जलवायुसम्बन्धी फोकल मन्त्रालय भएको हिसाबले अबको कोपलाई नेपालका एजेण्डाहरु र नेपालको पक्षयमा कसरी ल्याउन सकिन्छ भनेर थप आवश्यक छलफल गर्नेछौं ।’

प्रतिक्रिया दिनुहोस्