७ आश्विन २०८१, सोमबार
विशेष समाचार समाचार समाज

जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना

७ असाेज, काठमाडौँ । वाणिज्य तथा आपूर्ति उपभोक्ता संरक्षण विभागले काठमाडौँस्थित शान्ति नगरको जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ ।

अङ्कित मूल्य भन्दा दोब्बर मूल्यमा मिनिरल वाटर बेचेको भन्दै विभागले जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना गरेको हो । जिम्बु थकालीले उपभोक्ताहरूलाई ३५ रुपैयाँ मूल्य पर्ने मिनिरल वाटरलाई १ सय रुपैयाँसम्म लिएको गुनासो आएसँगै विभागका महानिर्देशक राजन पौडेल सहितको टोलीले छड्के अनुगमन गरी रेस्टुरेन्टमा अनुगमन गरेको हो ।

महानिर्देशक पौडेलले जिम्बु थकालीले आफूलाई समेत ठगेको बताउनु भयो । उहाँले रेस्टुरेन्टले पानीमा अङ्कित गरेको मूल्य भन्दा दोब्बर मूल्य लिएर उपभोक्ता ठगी गरेको आधारमा उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम हदैसम्मको कारबाही स्वरूप ३ लाख रुपैयाँ जरिवानासहित सचेत गराएको बताउनु भयो । उहाँले रेस्टुरेन्टले अब पनि अङ्कित मूल्य भन्दा बढीमा पानी लगायतका कुनै पनि वस्तु बेचेको पाइएमा रेस्टुरेन्ट सिलबन्दी गर्ने बताउनुभयो ।

उहाँले चाडपर्व लक्षित विभागको ७ वटा टोली बजार अनुगमनमा रहेको बताउनु भयो । उहाँले आवश्यकताका आधारमा उपभोक्ताहरू ठगीबाट जोगाउनको लागि विभागले बजार अनुगमनलाई तीव्रता दिएको बताउनु भयो । काठमाडौँ उपत्यकासहित मुलुकभर स्थानीय तहमार्फत बजार अनुगमनलाई तीव्र पारिएको पनि बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्