७ आश्विन २०८१, सोमबार
अन्तराष्ट्रिय खेलकुद मुख्‍य समाचार

साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलंका पराजित

७ असाेज, काठमाडौँ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-१७ च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगितामा नेपालले श्रीलंकालाई पराजित गर्दै विजयी भएको छ ।

भुटानको चाङ्लिमिथाङ रंगशालामा आज भएको खेलमा नेपालले श्रीलंकालाई ४-० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । जितसँगै समूह ‘बी’ मा रहेको नेपालले दुई खेलमा तीन अंका जोडेको छ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग १-० गोलअन्तरले पराजित भएको थियो ।

यता दुवै खेलमा पराजित श्रीलंका अंकाविहिन छ । श्रीलंका पहिलो खेलमा घरेलु टोली भुटानसँग ५-१ ले पराजित भएको थियो । आज नेपालको जितमा सुजन डंगोलले ह्याट्रिक पूरा गरे भने विज्ञान खड्काले एक गोल थपे । खेलको चार मिनेटमा सुजनको गोलमार्फत नेपालले पहिलो अग्रता लिएको थियो । त्यसपछि खेलको १२औँ मिनेटमा सुजनले गोल गर्दै आफ्नो टोलीको अग्रता दोब्बर बनाए ।

सुजनले खेलको ३०औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । त्यसपछि खेलको ८४औँ मिनेटमा विज्ञानले गोल गर्दै नेपाललाई ४-० को सहज जित दिलाए । नेपालले आफ्नो तेस्रो खेल आयोजक भुटानसँग यही असोज ९ गते खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्