९ आश्विन २०८१, बुधबार
मुख्‍य समाचार समाचार समाज

पर्वले सामूहिकता र एकतालाई अभिवृद्धि गर्न मद्दत गर्छ : उपराष्ट्रपति यादव

९ असाेज, काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले विभिन्न तिथिहरूमा गरिने पूजापाठ र अनुष्ठानले नागरिकबीच सामूहिकता र एकतालाई बढावा दिनुका साथै व्यक्तिको मन, वाणी र कर्ममा पवित्रता एवं शुद्धताको सञ्चार गर्ने भावनाले अभिप्रेरित गर्ने बताएका छन् ।

जितिया पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै उनले व्यक्तिमा असल संस्कार, व्यवहार र सामाजिकताको पृष्ठपोषण गर्न यस पर्वले सघाउ पुग्ने विश्वास व्यक्त गरेका छन् ।

जितिया पर्व तराई–मधेसका आमाहरूले निर्जल/निराहार २४ घण्टासम्म उपवास बसी सन्तानको सुख, शान्ति, दीर्घायु एवं उत्तरोत्तर प्रगतिका लागि परापूर्वकालदेखि मनाउँदै आएका छन् ।

“हामीले मनाउने पर्वहरू यस्तो उत्सव हुन्, जसले वर्षौंदेखि प्रचलनमा रहेका हाम्रा मूल्यमान्यतालाई वर्तमानसम्म दृढताका साथ एउटा कडीका रूपमा जोडेर राख्न सहयोग गरेको छ । पर्व–त्योहारहरुले हाम्रो अन्तःचेतनालाई जगाउँदै हाम्रो आत्मविश्वास पनि बढाउँदछ । यसले हाम्रो आध्यात्मिक मूल्यलाई बल प्रदान गर्दै हाम्रा पारिवारिक सम्बन्धको रागात्मकतालाई थप सुदृद्ध र बलियो बनाउनुका साथै सामाजिक संरचनालाई थप प्रगाढ बनाउनमा सघाउँदछ”, उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

जितिया कठिन व्रतको संयम त हुँदै हो, यो केही प्रचलित र लोकमान्यताहरुलाई जीवन्त बनाउने माध्यम पनि हो । यसो त जितिया पर्वलाई सन्तानको दीर्घायु र सुस्वास्थ्यका लागि गरिने पर्व भनिए पनि यो तीन दिनसम्म गरिने फरकफरक लोक–अनुष्ठान र लोकमान्यताको मौलिक परम्परा र प्रथा हो । यसमा प्रकृति, धर्म र संस्कृतिको अनौठो समायोजन भएको पाइन्छ ।

उपराष्ट्रपति यादवले सांस्कृतिक र धार्मिक महत्त्व बोकेको जितिया पर्व तराई-मधेसका भूइँमान्छे, मूल आदिवासी, रैथाने जातजातिकाहरुले आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथि गरी तीन दिनसम्म श्रद्धापूर्वक मनाउने परम्परा रहेको उल्लेख गरेका छन् ।

यो पर्वलाई जिवित्पुत्रिका व्रतको नामले पनि चिनिन्छ । वनस्पतिबाट प्राप्त हुने केराको पात, घिरौँलाको पात, तोरीको पिना, चिनी/सखर, भिजाएको केराउ, दही–च्युरा, कम्तीमा पाँच प्रकारका फलफूललगायत सामग्री पूजाआजामा प्रयोग गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्