११ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार राजनीति समाज

युवराज नयाँघरेको ‘आगोको बीउ’ लोकार्पण

काठमाडौं । निबन्धकार तथा नियात्राकार युवराज नयाँघरेको १९ औं कृति ‘आगोको बीउ’ निबन्ध सङ्ग्रह लोकार्पण भएको छ ।

वरिष्ठ आख्यानकार, निवन्धकार, कवि तथा समालोचक कृष्ण धारावासीले प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमकाबीच उक्त कृति लोकार्पण गरेका हुन ।

पुस्तक लोकार्पण गर्दै प्रमुख अतिथिसमेत रहेका धारावासीले आफुलाई सबैभन्दा बढी मनपर्ने विधा नै निवन्ध रहेको र ‘आगोको बीउ’ पढदा आफुलाई एकदमै आनन्द महसुस् भएको बताए ।

निबन्धकार नयाँघरेलाई लेखन यात्रामा निरन्तर हिडन र यस्ता कृति सृजना गरिरहन सुझाव दिदै उनले भने ‘साच्चै नै उहाँको लेखमा जादु छ । समसामयिक विषयलाई जस्ताको लेख्नुहुन्छ । एकपल्ट सबैले पढ्नै पर्ने निबन्ध आगोको बीउ र नयाँघरेजीलाई बधाई ।’

कृति माथि टिप्पणी गर्दै आख्यानकार तथा निवन्धकार अनिता कोइरालाले कृतिको नाम आगोको बीउ भएपनि पुस्तकभरि यो शब्द बिम्वकोरुपमा प्रयोग भएको बताइन । यस्तै कवि, आख्यानकार तथा समालोचक भारती न्यौपानेले नयाँघरेका निवन्धहरुमा विचारको बिस्कुन देख्न सकिने भन्दै निवन्ध पढिसकेपछि सारा संसारमा आगोको बीउ सनसनी फैलिने बताइन ।

पुस्तकमा भूमिका लेखनसमेत गरेकी निवन्धकार तथा समालोचक कुमारी लामाले आफुलाई यो कृति अत्याधिक मन परेर नै भूमिका लेखेको बताइन । ‘जीवन र मृत्युको दोसाधबाट अगाडि बढेका तथा अनुभव, अनुभूति र ज्ञानले खारिएका दार्शनिक चेतानायुक्त कुराहरु समेटिएको निवन्ध कृति आगोको बीउ हो’ उनले भनिन । यस्तै निवन्धकार तथा समालोचक ज्ञानु अधिकारीले ‘आगोको बीउ’ शिर्षकले नै तरंगित पार्ने बताउदै यसले मानवभित्र रहेको संवेदनालाई संयमित बनाउने बताइन ।

कार्यक्रममा बोल्दै कृतिकार नयाँघरेले आफु निवन्ध र नियात्रा लेखनको क्षेत्रबाट बाहिर जानै नसक्ने बताए । उनले भने ‘निबन्ध मेरा लागि यात्रा गर्दा टेक्ने दह्रो लठ्ठी हो । हिड्दा आवाज आउँछ त्यो आवाज मेरो नियात्राका बान्की हुन् भने पुग्ने गन्तव्य मेरो निबन्धको आधार हो ।’

२०६५ सालमा आत्मपरक निबन्धसंग्रह ‘एक हातको ताली’मा मदन पुरस्कार पाएका उनका यसअघि ९ वटा नियात्रासंग्रह र १० वटा निबन्धका कृति आएका छन् । ‘आगोको बीउ’ कृतिमा २६ वटा आत्मपरक निबन्धहरू समावेश गरिएको छ ।

निबन्ध लेखेरै आफ्नो भिन्न पहिचान बनाएका नयाँघरेको यो संग्रह रत्न पुस्तक भण्डारले प्रकाशनमा ल्याएको हो । आपूmलाई निबन्ध र नियात्रा लेखनमा समानान्तर रूपमा उभ्याउने नयाँघरे नयाँ शैल्पिक लेखन र कथ्य कलामा विशेष छवि बनाएका लेखकका रूपमा परिचित छन् ।

प्रतिक्रिया दिनुहोस्