१२ आश्विन २०८१, शनिबार
विशेष समाचार समाचार समाज

अपडेट : काठमाडौँ उपत्यकामा नौ महिने गर्भवतीसहित ३४ को मृत्यु (नामावली)

१२ असाेज, काठमाडौँ । बिहीबार रातिदेखिको अविरल वर्षापछिको बाढीपहिरोमा परी काठमाडौँ उपत्यकामा नौ महिनाकी गर्भवतीसहित ३४ जनाको मृत्यु भएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले ललितपुरमा १८, काठमाडौँमा ११ र भक्तपुरमा पाँच जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

मृत्यु भएकामध्ये आज साँझसम्म २७ जनाको सनाखत भएको छ । अझै सात जनाको सनाखत हुन बाँकी छ । बाढी पहिरोमा परी काठमाडौँको दक्षिणकाली नगरपालिका-८ का ४३ वर्षीय भविन्द्र लिम्बू, सोही ठाउँका ४० वर्षीय कुमार तामाङ र २३ वर्षीया मनु तामाङ, दक्षिणकाली-९ का ३७ वर्षीय प्रेम बलामी र सोही ठाउँका ३४ वर्षीय कान्छा बलामी, दक्षिणकाली-७ का ५० वर्षीया देवी लिम्बुको मृत्यु भएको छ । उनीहरूको घरमा बसिरहेको अवस्थामा पहिरोमा परेको कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले जानकारी दिए।

यस्तै नागार्जुन नगरपालिका-६ इचङ्गुनारायण बस्ने सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका-२ का अन्दाजी ४५/४५ वर्षका सचिन साह, चन्द्रागिरि नगरपालिका-२ मसिनेका ३८ वर्षीय गर्व तामाङ र निजकी श्रीमती ३६ वर्षीया सबिनाको पनि मृत्यु भएको छ । दुवै जना घरमा बसिरहेका थिए । अर्घाखाँची घर भई कीर्तिपुर बस्ने २४ वर्षीय अजय पाण्डेको वर्षाका कारण ढलेको रुखमा मोटरसाइकल ठोक्किँदा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । हालसम्म नाम थर वतन नखुलेको अन्दाजी ४०/४५ वर्षका पुरुष व्यक्तिको मृत्यु भएको छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिका-९ पलासेस्थित सूर्यमोडमा पहिरोले टहरो बगाउँदा कालीकोट सानी त्रिवेणी नगरपालिका-५ की २४ वर्षीया बमिला शाही, निजकी १४ वर्षकी बहिनी मनीषा शाही र निजको चार वर्षको छोरी श्रीया बमको मृत्यु भएको छ । बमिला नौ महिना पुगेको गर्भवती भन्ने बुझिएको प्रहरीले जनाएको छ । सूर्यविनायक-८ आशापुरी नैचाल बस्ने ५० वर्षीय मसली तामाङ र निजकी ३७ वर्षीया बहिनी मनु तामाङको पनि पहिरोमा परी मृत्यु भएको छ ।

ललितपुरको गोदावरी नगरपालिका-१० टाखेल निवासी ५८ वर्षीया सानु चालिसे र गोदावरी-९ चुनिखेल घर भइ हाल सोही ठाउँ बस्ने वर्ष ४८ की सुशीला लिम्बुको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै महांकाल गाउँपालिका-३ माथिल्लो गोटिखेल निवासी राजकुमार सिङतानको घर पुरिँदा निजको दुई वर्षीय छोरा सम्यमको मृत्यु भएको छ ।

गोदावरी नगरपालिका-९ छम्पीस्थित भैसेपाटी-टीका भैरव सडक खण्डमा माथिबाट पहिरो आई बाटो अवरोध भएको र सोही स्थानमा सिन्धुली घर भइ हाल सोही स्थानमा टहरो बनाई बस्ने ४२ वर्षीया सुनिता तामाङको पुरिएर मृत्यु भएको छ । गोदावरी-३ स्थित ३५ को पवन नगरकोटीको टहरोमाथिबाट पहिरो झर्दा पवन र निजको २० वर्षीया छोरी मेन्सिलाको पनि मृत्यु भएको छ ।

ललितपुर महानगरपालिका-२५ तालिम केन्द्र नजिकका ६६ की ताराराज कनिकाको घरमाथिबाट आएको पहिरोले बगाएर मृत्यु भएको छ । महालक्ष्मी नगरपालिका-९ सिस्नेरी ठकुरीगाउँकी ३५ वर्षीया रिना महिमकर्मी श्रेष्ठको पनि पहिरोमा पुरिएर मृत्यु भएको छ । सोही ठाउँको सिस्नेरी खोलामा बस्ने ४४ वर्षीय रवीन भुजेलको खोलाले बगाएर मृत्यु भएको छ ।

ललितपुर महानगरपालिका-१४ कान्तिपुर कलौनीमा रौतहटका २७ वर्षीय नन्दु साहको नख्खु खोलाले बगाएर मृत्यु भएको छ । महालक्ष्मी नगरपालिका-८ शङ्खादेवीमा पहिरोमा पुरिएर घाइते भएकी ६१ वर्षीया राधिका थापाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

विपद्का घटनामा परी १७ जना बेपत्ता भएका छन् भने १७ जना घाइते भएका छन् । बाढीपहिरो तथा डुबानमा परेका एक हजार तीन सय १५ जनालाई उद्धार गरिएको प्रहरी वरिष्ठ उपरीक्षक घिमिरेले बताए। बाढीपहिरोबाट काठमाडौँमा चार घर भत्केका छन् भने भक्तपुरमा एउटा घरमा क्षति पुगेको छ ।

काठमाडौँमा एक हजार तीन सय २४, ललितपुरमा पाँच सय र भक्तपुरमा चार सय १७ गरी उपत्यकामा दुई हजार दुई सय ४१ घर डुबानमा परेका छन् । विपद्का घटनाको उद्धार र राहत कार्यमा काठमाडौँमा तीन हजार ६०, ललितपुरमा एक हजार एक सय र भक्तपुरमा तीन सय ५० जना प्रहरी खटिइएको उपत्यका प्रहरीका कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्