१३ आश्विन २०८१, आईतवार
मुख्‍य समाचार समाज

स्वदेशमै रोजगारी चाहन्छन् भारतमा मजदुरी गर्ने नेपाली

१३ असोज, राँझा (बाँके) । कामको खोजीमा भारतका विभिन्न सहर पुगेका नेपाली स्वदेशमै रोजगारीको पर्खाइमा रहेका छन् । छ महिनाअघि कामको खोजीमा भारतको सिमला पुग्नुभएका सुर्खेत सिम्ता गाउँपालिका–५ का महेन्द्र खत्री दसैँ र तिहार मनाउन बिहीबार घर फर्किनुभएको छ । नेपालगञ्जस्थित जमुनाह नाका हुँदै घर फर्किनुभएका खत्रीले नेपालमा कुनै रोजगारी नपाएपछि दसैँ र तिहारको खर्च जोहो गर्न भारत जानुपर्ने बाध्यता रहेको बताए ।

“नेपालमा काम पाइँदैन, चाडबाड मनाउनका लागि कमाउन भारत जानुपर्छ, त्यहाँ पनि सजिलो छैन”, खत्रीले भने, “सिमलामा पनि भनेजस्तो काम पाइँदैन तलब थोरै हुन्छ, अलिअलि लत्ताकपडा र दसैँ खर्च लिएर फर्किएको छु, आफ्नै देशमा काम पाए यहीँ पसिना बगाउने हो ।” स्याउको बगैँचामा काम गरेर फर्किएको उसले बताने ।

नेपालमा रोजगारी नपाएपछि घरपरिवारको खुसीका लागि काम खोज्दै भारतको सिमला पुगेको उसको भनाइ छ । आफ्नो देशमा रोजगारी नपाउनु, पाइहाले पनि न्यून पारिश्रमिकमा काम गर्नुपर्ने, औषधिमुलोसमेत राम्रो नपाइने भएपछि लुम्बिनी र कर्णाली प्रदेशबाट महेन्द्र जस्तै हजारौँ नेपाली रोजगारीका लागि भारत जान बाध्य छन् ।

रोजगारीका लागि भारतका विभिन्न सहरमा पुगेका नेपाली दसैँ खर्च जोहो गरेर पर्व मनाउन यतिबेला घर फर्किने गरेका छन् । दसैँ मनाउन घर फर्कने नेपालीको सीमानाका जमुनाहमा लर्को लाग्ने गरेको छ । सल्यानको वनगाड कुपिण्डे नगरपालिकाका रमेश परियारले वर्षभरि परदेशमा काम गरेर दिन बितेपनि दसैँमा भने सधैँ घर फर्किने गरेको बताए ।

धेरै पैसा कमाउन नसके पनि जसोतसो खर्च जोहो गरेको उसको भनाइ छ । उसँगै भारतको सिमलामा मजदुरी काम गर्ने जाजरकोट र सल्यानका मात्रै २५ घरपरिवार दसैँ मनाउन बिहीबार घर फर्किएका छन् । पश्चिम नेपालको सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, रुकुम, रोल्पा, प्यूठानलगायत जिल्लाबाट भारतमा रोजगारीका लागि पुग्ने गरेका छन् ।

रोजगारीका लागि भारतको विभिन्न सहरमा पुगेका नेपाली दसैँ नजकिएसँगै घर फर्किनेक्रम सुरु भएको छ । पछिल्लो १० दिनमा नेपालगञ्जस्थित जमुनाह नाका हुँदै ३० हजार नेपाली घर फर्किएको इलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख प्रहरी निरीक्षक उपेन्द्रबहादुर बुढाथोकीले बताए ।

भारतका विभिन्न सहरमा रोजगारी गरेर घर फर्कने नेपालीको नेपालगञ्जस्थित जमुनाह नाकामा प्रत्येक दिन बिहान लर्को लाग्ने गरेको छ । दैनिक करिब तीन हजार बढी भारतमा काम गर्ने नेपाली जमुनाह नाका हुँदै दसैँ मनाउन घर फर्किने गरेको उसको भनाइ छ ।

“अहिले भारत जानेभन्दा आउनेको भीडभाड बढी छ, सोह्रश्राद्ध सुरु भएयता भारतमा काम गर्ने नेपाली घर फर्किनेक्रम ह्वात्तै बढेको छ”, बुढाथोकीले भने, “बिहान ७ बजेदेखि ११ बजेसम्म जुमनाह नाकामा घर फर्किने नेपालीको भीड हुने गरेको छ ।”

दसैँ मनाउन भारतबाट आउने नेपालीको सहजताका लागि जमुनाह नाकामा जिल्ला ट्राफिक प्रहरीसँगको समन्वयमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। रिक्सा, इ–रिक्सा, बस, मिनीबस र होटेल व्यवसायीबाट स्वदेश फर्किने नेपालीलाई ठगिन नदिन नेपाल प्रहरीले सचेतना अभियान पनि चलाएको इलाका प्रहरी कार्यालय जमुनाह नाका इञ्चार्ज बुढाथोकीले बताए।

प्रतिक्रिया दिनुहोस्