१७ आश्विन २०८१, बिहीबार
मुख्‍य समाचार विशेष समाचार समाज

हनुमानढोकास्थित दसैँ घरमा जमरा राखियो

१७ असोज, काठमाडौँ । दुर्गा पक्षको पहिलो दिन हनुमानढोका दरबारस्थित दसैँ घरमा विधिपूर्वक घटस्थापना गरी जमरा राखिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको बिहान ९:१६ बजेको साइतमा हनुमानढोका दरबार क्षेत्रको दसैँ घरमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखिएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दिप खनालले राससलाई जानकारी दिए ।

हनुमानढोका दरबारमा रहेको दसैँ घरमा राज्यका तर्फबाट घटस्थापना गरी विधिपूर्वक दुर्गा देवीको आह्वान गरी पूजा आराधना गर्ने परम्परा रहेको छ । हनुमानढोकाको दसैँ घरमा आजैदेखि बलिसहित पूजा सुरु गरिन्छ । हनुमानढोकाको कोतमा महाअष्टमी र महानवमीका अवसरमा भने ५४ बोका, ५४ राँगाको बलि दिएर विशेष पूजा गरिन्छ । यस वर्ष तिथिको घटबढका कारण असोज २४ गते फूलपाती भित्र्याएपछि अष्टमीमा गरिने पूजा आराधना र बलिको तयारी भएको जानकारी पनि कार्यालय प्रमुख खनालले दिए ।

वैदिक विधिपूर्वक घटस्थापना गरी दुर्गा देवीको आह्वान गरिएको दसैँ घरमा दुर्गा पक्षको पहिलो दिन आज नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको पूजा आराधना गरिन्छ । दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चाँैथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको विधिपूर्वक पूजा आराधना गरिन्छ ।

नव दुर्गासहित दसैँ घरमा वा पूजा कोठामा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विधिपूर्वक पूजा, आराधना गरिन्छ । यसैगरी राजधानीलगायत देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा पनि भक्तजनको पूजा, आराधना एवं दर्शनका लागि भीड लाग्ने गर्छ । शक्तिपीठ एवं देवी मन्दिरमा बलिसहित पूजा, आराधना गर्न पनि भक्तजन पुग्ने गर्छन् ।

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरिन्छ । घटस्थापनादेखि महानवमीका दिनसम्म विधिपूर्वक दुर्गा देवीको पूजा, आराधना गरिन्छ । नौ दिनसम्म पूजा, आराधना गरिएकी देवीलाई विजयादशमीका दिन बिहान देवी विसर्जन गरी मान्यजनका हातबाट प्रसादस्वरुप टीका र समृद्धिको प्रतीको जमरा लगाउने गरिन्छ ।

मान्यजनबाट टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ । कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति गरी बेलुकी धनधान्यकी देवी महालक्ष्मीको विधिपूर्वक पूजा, आराधना गरी जाग्राम बसेपछि १५ दिन लामो बडा दसैँ पर्व समाप्त हुन्छ । यो १५ दिनको पक्षलाई दुर्गा पक्ष पनि भनिन्छ । नौ दिनसम्म विधिपूर्वक देवीको आराधना गर्ने बाँकी छ दिन देवीकोप्रसाद ग्रहण गरिने भएकाले यो १५ दिनको समयलाई दुर्गा पक्ष भनिएको हो ।

प्रतिक्रिया दिनुहोस्